छठमा नेपाल र भारतका जनताको साझा घाट

छठमा नेपाल र भारतका जनताको साझा घाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – छठ पर्व सामाजिक सद्भाव र सौहाद्रताको प्रतीक हो भन्ने यर्थाथलाई नेपाल र भारतका जनताले प्रमाणित गरेका छन् ।

महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा छठ पर्वका लागि नेपाल–भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक दुबै देशको साझा घाट निर्माण गरिएको हो ।

नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८ र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाही तथा भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि साझा छठघाट निर्माण गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेवारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले दुवै देशका नागरिकले साझा छठ घाट निर्माण गर्दै आएका पनि उनले बताए ।

‘माझमा दशगजाले दुई देश छुट्याएको छ । तर हाम्रा भेषभूषा, भाषा, संस्कृति र चाडवाड समान छन् । हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो’, नगरप्रमुख मण्डलले भने ।

नेपाल र भारतको यो साझा घाट सजाउन मटिहानी र तुलसियाही तथा मधवापुर र रामपुरका नागरिक जुटेका छन् ।

सूर्यदेव र छठीदेवीको उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अर्घ्य दिनेछन् ।

यस घाटमा दुवै देशका गरी दुई हजारभन्दा बढी व्रतालुले अर्घ्य दिने र छठ घाट हेर्न १० हजारभन्दा बढी श्रद्धालु उपस्थित हुने अनुमान रहेको मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझीले बताए ।

घाटमा अर्घ्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अर्घ्य दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने छन्।

सोमबार साँझ उस्दाउँदो सूर्यलाई र भोलिपल्ट मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइने छ ।