पूर्वसांसद् छिरिङद्वारा नेकपा परित्याग

पूर्वसांसद् छिरिङद्वारा नेकपा परित्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की पूर्वसांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीमा निर्बाध रुपमा काम गर्न नपाएको भन्दै पार्टी छाडेको बताएकी छन् ।

जुम्लाकी लामा ०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।


आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण आफूले पार्टीमा रहुञ्जेल असंख्य पीडा, अपमान, निषेध र षड्यन्त्र सहनुपरेको उनको भनाइ छ ।

‘हरेक पाइलामा रोक्ने, हरेक प्रयासमा अवरोध खडा गर्ने, र अरूलाई अगाडि बढेको देख्न नसक्ने अपराधी मानसिकतासँग अब सँगै यात्रा गर्न सम्भव छैन,’ उनले लेखेकी छन् ।


युवाको विचारलाई निषेध गर्ने, नयाँ पुस्ताको आवाजलाई दबाउने र सामान्य मानवीय व्यवहारसमेत नगरिने वातावरणबाट आफू मुक्त हुन चाहेको उनको भनाइ छ ।

आफूविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने, राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भए पनि भाग्यवश आत्मविश्वास र संघर्षशीलताले षड्यन्त्रहरूको सामना गर्न सकेको उल्लेख गरेकी छन् ।

पार्टी छाडेपछि आफूलाई कतिपयले अवसरवादी भन्न सक्ने, आलोचना गर्ने र अनेक आरोप लगाउनसक्ने आंकलन पनि गरेकी छन् ।

आफूले आजसम्म पाएको कुनै पनि जिम्मेवारी मागेर, दाबी गरेर वा दबाब दिएर नपाएको जिकिर उनको छ ।


समयले आफ्नो काँधमा राखिदिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको दाबी लामाले गरिन् ।


इमानदारीको जगमा उभिएको अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न नसक्ने उनको भनाइ छ ।