काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफ्नो इजलासबाट पाँच मुद्दाको सुनुवाई गरेका छन् । विवादकाबीच प्रधानन्यायाधीश राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए ।
अरू न्यायाधीश भने राणाबारे धारणा बनाउन छलफलमा जुटेका बेला प्रधानन्यायाधीशले आफ्नो एकल इजलासबाट पाँच मुद्दाको फैसला सुनाएका हुन् ।
उनले दुइटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् भने एउटा तामेलीमा राख्ने र एउटामा निवेदन फिर्ता गर्ने फैसला गरेका छन् । त्यस्तै एउटामा भने कैफियत प्रतिवेदन माग्ने आदेश गरेका छन् ।
जसपा लुम्बिनीका निर्वतमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखिएको छ ।
ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्मा र साजन सुनारको हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आवद्ध अधिवक्ता नवल किशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ ।
त्यस्तै, एकल इजलासले भुवन कुमार दाहालले मधु कुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुद्धीकरण निवेदन फिर्ता हुने आदेश दिएको छ ।
यसैगरी, कालोबजार तथा अन्य केही सामाजिक अपराध सम्बन्धी कसूरमा रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ।




प्रतिक्रिया