विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट पारित गराउन पहल गरिने

विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट पारित गराउन पहल गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दलले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने भएका छन् ।

सत्तारुढ दलका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा आइतबार बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलका प्रमुख सचेतकको उपस्थिति थियो ।

बैठकमा सहभागी प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संसद्मा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउने विषयमा छलफल भएको छ ।

चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले पनि बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । उनीहरूले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न एक साता अगाडि आफूहरूलाई सूचना दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले सरकारसँग अध्यादेश निर्णयार्थ पेस गर्ने एक साता अगाडि आफूहरूलाई सूचना दिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए । ‘प्रायः सांसदहरू उपत्यका बाहिर हुनुहुन्छ । उहाँहरू छोटो सूचनाले उपत्यका फर्किन सम्भव हुँदैन । तसर्थ निर्णयार्थ अध्यादेश निर्णयार्थ पेस गर्नु एक साता अगाडि हामीलाई जानकारी दिन सरकारसँग आग्रह गर्ने सहमतिमा पुगेका छौँ,’ घिमिरेले भने ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा राष्ट्रियसभामा ६ गते सरकारले ल्याएका ५ अध्यादेश पेस गर्ने सहमति भएको थियो । सरकारले १८ माघमा राष्ट्रपतिबाट जारी भएका ६ अध्यादेश संघीय संसदमा पेस गरेको थियो ।