भक्तपुरमा दिनदहाडै बालिकाको अपहरण, घ्याम्पेडाँडाबाट यसरी गरियो उद्धार

भक्तपुरमा दिनदहाडै बालिकाको अपहरण, घ्याम्पेडाँडाबाट यसरी गरियो उद्धार


भक्तपुर – भक्तपुरको सूर्यविनायकबाट आइतबार दिउँसो एक स्कुले बालिका अपहरणमा परेकी छन् । अपहरणमा परेकी बालिकाको सकुशल उद्धार गरिएको छ ।

आइतबार मध्यान्ह १२ बजे सूर्यविनायक नगरपालिका–५ निकोशेरास्थित ग्लोरी इंग्लिश स्कुलको यूकेजीमा अध्ययनरत ६ वर्षीया गृष्मा राउतलाई अपरिचित पुरुषले अपहरण गरेको थियो ।

अपहरणकारीले अल्फाबेट नखुलेको १६२० नम्बरको कालो रंगको एनएस पल्सर मोटरसाइकलमा राखेर बालीकालाई लिएर गएको सूचना पाएपछि तत्कालै थिमि वृत्ति र अपराध अनुसन्धान महाशाखाको टोली संयुक्त रूपमा परिचालन भयो । महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बालिका अपहरणमा परेको पाँच घण्टामा संयुक्त टोलीले अपहरणकारी पक्राउ पर्न सफल भएका हुन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भई हाल बोडेमा बस्दै आएका २० वर्षीय आशिष थापा छन् । उनका अनुसार अपहरणकारीले बालिकालाई अपहरण गरेपछि १६ लाख रुपैयाँ माग गरेको थियो । अपहरणकारीले फिरौती रकम थिमिस्थित भाटभटेनीमा ल्याउन भनेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकालाई घ्याम्पे डाँडाबाट उद्धार गरिएको हो । सूर्यविनायक गणेश मन्दिर घुम्न गएका मानिसले सूर्यविनायक जंगलमा बालिका रोएको सुनेका थिए । उनीहरुले बालिका बढ्ने स्कुलमा ल्याइदिएका थिए ।