मध्ये प्रदेश – भारतको मध्य प्रदेशमा ६ जना बालिकालाई निबस्त्र पारेर सडकमा परेड गराइएको छ । लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निबस्त्र परेड गराएका हुन् । खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निबस्त्र बालिकाहरुले काँधमा बोकेको एउटा पाइपमा भ्यागुतो बाँधिएको देखिन्छ । यस परम्पराले बर्षाका देवता खुसी भएर पानी पर्ने स्थानीयको विश्वास छ ।
बालिकाको पछाडि महिलाहरुको एउटा समूहले गीत गाएर हिडेको भिडियोमा देखिन्छ । लस्करमा हिडेका बालिकाले गाँउका प्रत्येक घरमा पुगेर खाद्यन्न समेत बटुलेका थिए ।
सो खाद्यन्नलाई एउटा स्थानीय मन्दिरलाई प्रदान गरिएको थियो । ‘यति गरे पछि अब पानी पर्छ,’ लाइनमा उभिएकी एक महिलाको भनाइ उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
भारतको बाल अधिकार संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले सो घटनाप्रति चासो देखाएको छ ।
सो घटनाबारे कुनै औपचारिक उजुरी नपरेको मध्य प्रदेश प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र किशोरीलाई निबस्त्र हिड्न बाध्य पारेको पाइएमा दोषीमाथि कडा कारबाही गरिने एक प्रहरी अधिकारीले बताएका छन् ।




प्रतिक्रिया