बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान


काठमाण्डु- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन प्रस्थान गरेका हुन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिनेछन् ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन् । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement