काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्धलाई थप प्रगाढ बनाउने भन्दै औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा रास्वपाको उदय र २ शक्तिबिच बढ्दो सहकार्यप्रति खुसी व्यक्त गरिएको छ ।
प्राप्त पत्रमा चीन र नेपालबिचको राजनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउने संकल्प गरिएको छ । सीपीसीले दुवै देश र जनताको हितका लागि साझा भविष्य सहितको समुदाय निर्माण गर्ने चिनियाँ अवधारणालाई जोड दिँदै रास्वपासँग सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरेको छ ।
पत्रमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरिएको छ । उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल र चीनबिचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास चीनले व्यक्त गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ ।’
चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको शुभेच्छा र ऐक्यबद्धताका लागि रास्वपाले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ ।




प्रतिक्रिया