काठमाण्डु – चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ ।
आईतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।
राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए ।
नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आईतबार मात्रै २ वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाण्डुमा ओरालेको राजदूत माओमिङले बताए । थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।
रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।
जलविद्युत् कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि शनिबारै चिनियाँ हेलिकप्टर सहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आईतबार नेपाल आइपुगेको बताए ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूतगतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।
नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दु:ख व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।
विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नु पर्ने कारणको सुरुवाट्ट भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबिच हातेमालो जरुरी रहेको बताए । यसपटकको बाढीका कारण नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा गरेको पनि उनले बताए । सहायता हस्तान्तरण कार्यक्रम भएको अर्थमन्त्रीको कार्यकक्षामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङनले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण पनि गरेका थिए ।




प्रतिक्रिया