काठमाडौं – संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको गर्ने भएको छ ।
समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकमा संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘समय मिलाएर चिनियाँ प्रतिनिधिमण्डलसँग संयुक्तरुपमा बजार अनुगमनमा जान प्रयत्न गर्नेछौं ।’
बिहीबार समितिको बैठकमा चिनियाँ प्रतिनिधि र उपभोक्ता हित संरक्षण समितिका सदस्यहरुबीच बजार अनुगमनबारे अनुभव आदान प्रदान गरेपछि सभापति श्रीवास्तवले सो कुरा बताएका हुन् ।
बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुन नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । उनीहरुले बजार अनुगमनबारे आ–आफ्ना अनुभव सुनाएका थिए । नेपाली र चिनियाँ प्रतिनिधिहरुले बजार अनुगमन, उपभोक्ता अधिकार, खाद्य अधिकारलगायतका विषयमा जानकारी गराएका थिए ।
प्रतिनिधिमण्डलले विदेशी लगानी भित्र्याउन आन्तरिक बजार चुस्त बनाउनुपर्ने सुझाव दिएको छ । ताङजुङले आन्तरिक बजार राम्रो नभएसम्म विदेशी लगानीको अर्थ नहुने बताएका हुन् ।
राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुङले यसो भनिरहँदा समितिका सभापति विमल श्रीवास्तवले चीन भ्रमण गराउनुपर्ने आशय व्यक्त गरेका थिए । ताङजुङले आफ्नो मन्त्रालयले बजार अनुगमन, उपभोक्ता हित संरक्षण, औषधि र खाद्य पदार्थको गुणस्तर अनुगमन लगायतका काम गर्ने उनले बताए ।
‘हामीले चीनमा व्यापार प्रवर्द्धन र उपभोक्ता हित संरक्षणमा ध्यान दिएका छौँ’, उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ। विदेशी लगानी भित्र्याउन आन्तरिक बजार चुस्त र राम्रो हुनुपर्छ। बजार अनुगमन प्रभावकारी हुनुपर्छ । अनि मात्रै विदेशी लगानीको प्रतिफल पनि देखिन्छ ।’
मन्त्री ताङजुङले व्यापार तथा बजार अनुगमनको अवस्था हेरेर गत वर्षभन्दा विश्व बैंकले बजार व्यवस्थापनको अवस्थामा हेरेर ४६ औँ स्थानमा राखेको बताए । उनले गत वर्षभन्दा यो वर्ष १५ स्थान फड्को मारेर चीन ३१ औँ स्थानमा आएको उनले उल्लेख गरे ।
समिति सदस्य सांसद मुकुन्द न्यौपानेले आफ्नो समितिले गर्ने कामबारे उपमन्त्रीको टोलीलाई जानकारी गराएका थिए । ‘चाडवाडमा उपभोक्ता ठगिने सम्भावना हुन्छ, त्यसैले बजार अनुगमन गर्छौं’, उनले भने, ‘सरकारले तोकेको मूल्य भन्दा तलमागथि गरेको छ कि भनेर हेर्छौँ । सरकारलाई निर्देशन दिन्छौँ, अनि काम हुन्छ ।’
बैठकको अन्त्यतिर चिनियाँ उपमन्त्री ताङले आफूहरुलाई महत्व दिएर संसदीय समितिको बैठकमा बोलाएकोमा धन्यवाद दिए ।




प्रतिक्रिया