ताइवानमा चीनले गरेको सैन्य अभ्यासप्रति जर्मनीद्वारा आलोचना


एजेन्सी- जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ। ‘चेतावनीका लागि सैन्य हावभाव जस्ता उपायले अनपेक्षित सैन्य भिडन्तको जोखिम बढाएको हाम्रो बुझाई छ,’ विदेश मन्त्रालयका प्रवक्ता एन्ड्रिया सासेले भने।

जर्मनीले यस क्षेत्रमा तनाव कम गर्न योगदान गर्न आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गरिरहेको उनले बताए। बेयरबोक बुधबार चीनका लागि प्रस्थान गर्नेछन्। उनले ताइवान र युक्रेनको युद्धबारे शीर्ष चिनियाँ विदेश र रक्षा अधिकारीहरूसँग छलफल गर्नेछन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको बेइजिङ भ्रमणपछि यो बिषयले निकै चर्चा पाएको छ। म्याक्रोँले गत साता चीनबाट फर्कने क्रममा ताइवानबारे युरोपले अमेरिकी नीति मान्न नहुने भन्दै केही पश्चिमा मित्रराष्ट्रको आलोचना गरेका थिए।

सासे र चान्सलर ओलाफ स्कोल्जका प्रवक्ताले बुधबार पत्रकार सम्मेलनमा म्याक्रोँको टिप्पणीको जवाफ माग्दा टिप्पणी गर्न अस्वीकार गरेका थिए। सन् १९४९ मा भएको गृहयुद्धपछि चीन र ताइवान ‘विभाजित’ भएका थिए।

बेइजिङले लोकतान्त्रिक टापुलाई आफ्नो भू–भागको एक भागको रूपमा हेर्छ र हालैका वर्षहरूमा टापुको वरिपरि आफ्नो सैन्य तथा अन्य गतिविधिलाई बढावा दिँदै कुनै दिन यसलाई मुख्य भूमिमा गाभिछाड्ने बताउँदै आएको छ।

वासिङ्टनले दशकौंदेखि ताइपेईलाई आफ्नो आत्मरक्षाका लागि हतियार बेचेको छ र राजनीतिक समर्थनको प्रस्ताव गरेको छ। ताइवानकी राष्ट्रपति साई इङ–वेनले गत साता संयुक्त राज्य अमेरिकाको भ्रमण गरेपछि चीनले तीन दिने सैन्य अभ्यास सोमबार सम्पन्न गरेको छ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेल बेयरबोकको भ्रमणमा सहभागी हुने कार्यक्रम थियो तर कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनको भ्रमण स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement