चिनियाँ उपविदेशमन्त्री वेइडोङ र सीपीपीसीसी उपाध्यक्ष बातेर नेपाल आउँदै

चिनियाँ उपविदेशमन्त्री वेइडोङ र सीपीपीसीसी उपाध्यक्ष बातेर नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आउने भएका छन् । जुन अन्तिम साता काठमाडौंमा बस्‍न लागेको नेपाल-चीनबीच १६ औं चरणको कूटनीतिक परामर्श संयन्त्र बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री वेइडोङ नेपाल आउन लागेका हुन् । बैठक जुन २५ मा काठमाडौंमा हुदैछ । संयन्त्रको १५ औं बैठक चीनमा बसेको थियो ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार बैठकमा नेपाल र चीनबीचका नियमित सबै विषयमा छलफल हुनेछ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणका क्रममा भएका विगतका सम्झौता र सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुनेछ ।

बैठकको समय नजिकिँदै गर्दा परराष्ट्र मन्त्रालयले यसअघि नै विभिन्न मन्त्रालयसँग छलफल गरी नेपाली पक्षले के-कस्ता विषयमा छलफल गर्नुपर्छ भन्ने विषयमा उनीहरूको एजेण्डा र सुझाव मागेको थियो ।

नेपाल र चीनबीच उच्चस्तरीय मञ्‍चको रूपमा काम गर्ने संयन्त्रले व्यापार, पारवहन, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विविध विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा नेपाली पक्षले चीनले गरेका प्रतिवद्धताअनुसार चीनमा फलफूल निर्यातका साथै नेपाली घाँस र भैंसीको मासु निर्यात गर्ने प्रोटोकललाई अन्तिम रूप दिनेलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली चिया, कफी लगायतका कृषिसम्बन्धी परियोजना चीनमा निर्यात गर्ने विषयमा पनि छलफल हुनेछ ।

यसका साथै बैठकमा व्यापार तथा भुक्तानी सम्झौताको परिमार्जन, चीनसँग नेपालको व्यापार घाटा र पर्यटन, कनेक्टिभिटी, नेपालमा चीनको लगानीमा सञ्चालित आयोजनालाई तीव्रता दिने, कृषि, जनस्तरको सम्पर्क र उच्चस्तरीय अन्य विषयमा पनि छलफल हुनेछ ।

यसैबीच चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष बातेर पनि चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् ।

सीपीपीसीसीका अनुसार उनी २० औं चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका सदस्य र १४ औं सीपीपीसीसी राष्ट्रिय समितिका उपाध्यक्ष पनि हुन् । सीपीपीसीसी चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष राजनीतिक सल्लाहकार निकाय हो ।