काठमाण्डु – भारतमाथि भएको आतंकवादी हमलापछि तनावपूर्ण बनेको पाकिस्तानसँगको सम्बन्ध युद्धमा परिणत हुने देखिँदैछ । पाकिस्तानले आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै भारतले पाकिस्तानमाथि आक्रमण थालेको छ भने पाकिस्तानले पनि भारतलाई जवाफ दिइरहेको छ ।
समग्रमा भारत–पाकिस्तान सम्बन्ध युद्धउन्मुख देखिएको छ । छिमेकी देश युद्धमा होमिँदा चीनले के सोच्दैछ ? यसतर्फ सबैको चासो छ ।
भारत–चीनबीच पनि पटक–पटक सीमा विवाद हुने गरेको तथा चीन–पाकिस्तान सौहार्द सम्बन्ध रहेको बेला कतिपयले चीनले पाकिस्तानको पक्ष लिने अड्कल गरिरहेका छन्, चीनले पाकिस्तानलाई भारतविरुद्धको युद्धमा सघाउने अनुमान गरिँदैछ । तर अवस्था फरक देखिएको छ । चीनले भारत–पाकिस्तान युद्ध बढ्ने कुनै गतिविधि नगर्ने र भारत–पाकिस्तानलाई पनि युद्धमा नहोमिन आह्वान गरेको छ ।
छिमेकमा युद्ध वा अशान्ति फैलिँदा चीनमाथि पनि दबाब पर्नसक्नेप्रति चीन सचेत देखिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन सबै प्रकारका आतंकवादको विरोधी रहेको बताउँदै भारतले पाकिस्तानमाथि आक्रमण गर्दा चिन्तित भएको जनाएको छ । आतंकवादको विरोधी रहेको जनाएर भारतप्रति सहानुभूति जनाएको र भारतीय आक्रमणले चिन्तित हुँदा पाकिस्तानप्रति सहानुभूति व्यक्त गरेको देखाउँछ । यसरी चीनले दुवै देशप्रति समदूरीमा रहेर विवाद मत्थर गर्ने रणनीति लिएको छ । चिनियाँ प्रवक्ताले भनेका छन्, ‘भारत र पाकिस्तान छिमेकी देश हुन् र सदैव रहनेछन् । यी दुवै देश चीनका छिमेकी पनि हुन् । चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ । शान्त रहन, संयमित हुन तथा आक्रमण र कारवाहीबाट जोगिन अपिल गर्दछौं ।’ चीनले स्थिति थप जटिल बन्न सक्ने गतिविधि नगर्न पनि आह्वान गरेको छ ।
भारतसँग सम्बन्ध सुमधुर नहुँदा–नहुँदै पनि चीन युद्ध रोक्ने पक्षमा किन छ ? आखिर यसको मजबुत कारण के हो ? तथ्य रोचक छ ।
विशेषज्ञहरूका अनुसार चीनले युद्ध नचाहनुको प्रमुख कारण उसले पाकिस्तानमा गरेको लगानी हो । बीबीसी हिन्दीका अनुसार चीनले सन् २००५ देखि २०२४ सम्म पाकिस्तानमा ६८ बिलियन अमेरिकी डलर लगानी गरेको छ । यदि भारत–पाकिस्तान युद्ध भएमा चिनियाँ लगानीका परियोजनामा क्षति पुग्नेछ । चीनले पाकिस्तानमा इकोनोमिक करिडोर (सीपेक) र बेल्ड एण्ड रोडमा ठूलो लगानी गरेको छ । यदि भारत–पाकिस्तान युद्ध चर्किएर भौतिक संरचनामाथि आक्रमण हुन थालेमा पाकिस्तान हुँदै मध्य एसियालाई सडकले जोड्ने चीनको सपना अधुरै रहनेछ । चिनियाँ मामिला जानकार तथा बेनेट विश्वविद्यालयका सहप्राध्यापक डा. तिलक झाले भने, ‘भारत–पाकिस्तान क्षेत्रमा तनाव बढेमा यसको प्रत्यक्ष असर चिनियाँ लगानी र सपनामा पर्नेछ । चीन कहिल्यै पनि चाहँदैन कि उसको हित प्रभावित होस् ।’
भारत–पाकिस्तान युद्ध चर्किएमा चीनले पाकिस्तानलाई प्रत्यक्ष सहयोग नगर्ने सामरिक विश्लेषकहरू बताउँछन् । चीनको सहयोग प्राप्त नहुने अवस्थामा भारतविरुद्ध युद्धमा जान पाकिस्तान हिच्किचाउने अवस्था रहेको बताइन्छ ।
प्रतिक्रिया