काठमाण्डु – चीनले नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालका लागि चीनका राजदूत छन सङले आगामी फागुन २१ गते हुने आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भेटघाट गर्दै चिनियाँ राजदूतले आगामी निर्वाचनका चीनले हरसम्भव सहयोग गर्ने बताए ।
राजदूत सङले परिवर्तित परिस्थितिमा दुवै देशबिचको सम्बन्ध अझ सुधारको दिशामा अग्रसर रहेको पनि बताए । नेपालमा जेनजीले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्रत्तर आर्थिक विकास जस्ता माग कार्यान्वयनले दुवै देशलाई सँगै मिलेर अघि बढ्ने मार्ग फराकिलो हुने उनको धारणा छ ।
‘हामी अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौँ, तर यो सरकारको ‘म्यान्डेट’ आमनिर्वाचन गराउनु भएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिहेका छौँ’, उनले भने ।
उनले नेपालका जेनजीको आन्दोलनमा कतिपय स्वार्थी तत्वले अनेक खेल्न खोजे पनि तिनीहरू आफैँ हराउने भन्दै वर्तमान अन्तरिम सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको आफूले पाएको स्पष्ट पारे ।
उनले यसअतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गरे ।
उनले ‘बेल्ट एण्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बतायँदै नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको उल्लेख गरे ।
बीआरआई परियोजनामा प्रगति भएको भन्दै उनले भने, ‘ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ ।’
चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने बताउँदै चिनिया राजदूत सङले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए ।




प्रतिक्रिया