अमेरिका–चीन व्यापार युद्ध अन्त्यको संघारमा

अमेरिका–चीन व्यापार युद्ध अन्त्यको संघारमा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौताको विषयलाई लिएर राम्रो वार्ता भएको बताएपछि डेढ वर्षदेखि चल्दै आएको अमेरिका–चीन व्यापार युद्ध अन्त्य हुने संकेत देखिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेपछि १८ महिना लामो व्यापार युद्ध समाम्त हुनेतर्फ लम्किएको हो ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन, “चीनका राष्ट्रपतिसँग हाम्रो विशाल व्यापार सम्झौतामा राम्रो कुराकानी भएको छ । चीनले पहिलेनै हाम्रो कृषि उत्पादन तथा अन्य सामग्रीको ठूलोे परिमाणमा खरिद सुरु गरेको छ । औपचारिक हस्ताक्षरको व्यवस्था हुदैछ । यसको अतिरिक्त हाम्रो उत्तर कोरिया र हङकङकमा पनि वार्ता भएको छ ।”

दुई देशबीच सम्झौतामा हस्ताक्षर कहिले हुन्छ भन्ने विषयमा ट्रम्पले केही पनि बताएका छैनन् । तर चीन र अमेरिकाबीच सहमती बन्ने विषय यी दुई मुलुकलाई मात्रै नभएर विश्वका अन्य अर्थव्यवस्थाका मुलुकका लागि पनि राहातको विषय हो । यसै कारणले चीनले बिहीबार अमेरिकी रसायनमा आयात शुल्क छुट दिने फैसला गरेको छ । चीनले अबदेश शुल्क नलाग्ने अमेरिकी बस्तुको सूची जारी गरेको छ ।