चीनको शक्तिशाली सैन्य परेडमा ओलीसँगै पुटिन, किम सहभागी

चीनको शक्तिशाली सैन्य परेडमा ओलीसँगै पुटिन, किम सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा सैन्य परेड आयोजना गरेको छ ।

चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा नेपालका प्रधानमन्त्री केपी ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले भाग लिएका छन्।

जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।

तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।

समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए । यस अवसरमा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् ।

चीनले अन्तिम पटक १० वर्षअघि विजय दिवसको सैन्य परेड आयोजना गरेको थियो । चीनले युद्धको अन्त्यको सम्झनामा भव्य सैन्य परेड आयोजना गरेको त्यो पहिलो पटक थियो । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए । साथै ८० हजार सेता परेवा समेत आकाशमा उडाइएको थियो ।

माओको विशाल तस्बिरवरिपरि ठुल्ठूला चिनियाँ झण्डा फहराइएका थिए भने ग्रेट हल अफ द पिपुलको नजिकै विशाल पुष्पगुच्छा तयार गरिएको छ भने ५० हजार पाहुनाहरूलाई बस्ने व्यवस्था मिलाइएको थियो ।

सन् १९३१ मा जापानले मन्चुरियामा आक्रमण गरेदेखि चीनको प्रतिरोधको प्रत्येक वर्षको प्रतिनिधित्व गर्दै १४ पङ्क्तिमा एक हजार बढी संगीतकारहरू बस्नेछन् ।

औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका छन् ।