काठमाण्डु – दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङमा सैन्य परेड आयोजना गर्दैछ ।
चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा चिनियाँ राष्ट्रपति सी चिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विश्व नेताहरूलाई स्वागत गर्नेछन् ।
भर्खरै सांघाई सहयोग संगठनको शिखर बैठकमा आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेका सीका लागि दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८० औँ वर्षगाँठको अवसरमा गरिने यो परेड सैन्य शक्ति प्रदर्शनको मौका मानिएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो कार्यक्रम बुधबार बिहान सुरु हुनेछ । चीनले अन्तिम पटक १० वर्षअघि विजय दिवसको सैन्य परेड आयोजना गरेको थियो । चीनले युद्धको अन्त्यको सम्झनामा भव्य सैन्य परेड आयोजना गरेको त्यो पहिलो पटक थियो ।
परेडमा चिनियाँ सैन्य शक्तिको प्रस्तुति हुनेछ । ड्रोन, हाइपरसोनिक क्षेप्यास्त्र र लडाकु विमानजस्ता उन्नत सैन्य उपकरणहरूको कोरियोग्राफ गरिएको प्रदर्शन गरिनेछ ।
त्यस्तै आणविक शस्त्र सुसज्जित अन्दरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र, नयाँ पुस्ताको ट्यांक र अनेकौँ आधुनिक हतियार प्रदर्शन गरिनेछ ।
यस्तै परेडमा पिपुल्स लिबरेशन आर्मी (पीएलए)का विमानहरू प्रदर्शन गरिनेछ । दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८० वर्षगाँठ मनाउन हुने परेडमा ८० जना बगलरहरू उपस्थित हुनेछन् ।
माओको विशाल तस्बिरवरिपरि ठुल्ठूला चिनियाँ झण्डा फहराइएका छन् भने ग्रेट हल अफ द पिपुलको नजिकै विशाल पुष्पगुच्छा तयार गरिएको छ भने ५० हजार पाहुनाहरूलाई बस्ने व्यवस्था मिलाइएको छ ।
सन् १९३१ मा जापानले मन्चुरियामा आक्रमण गरेदेखि चीनको प्रतिरोधको प्रत्येक वर्षको प्रतिनिधित्व गर्दै १४ पङ्क्तिमा एक हजार बढी संगीतकारहरू बस्नेछन् ।
तियानमेन स्क्वायरमा दर्शकलाई हरियो, रातो र सुनौलो रंगका कुर्सीमा बसाइनेछ । सो क्रमशः उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक रहनेछ । ‘विजय दिवस’ परेडमा सेनाका ४५ वटा टुकडीले भाग लिनेछन् ।
सैन्य परेडमा २६ विदेशी नेता सहभागी हुनेछन् ।
आइतबारदेखि सोमबारसम्म तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिइसकेका पुटिन पहिले नै चीनमा छन् ।
परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङ, इरानी राष्ट्रपति मसूद पेजेश्कियान, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ, मंगोलियाली राष्ट्रपति खुरेलसुख उखना, उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभ र बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को लगायत समावेश छन् ।
६६ वर्षमा उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिएको यो पहिलो पटक हो । चीनमा भएको सैन्य परेडमा भाग लिने अन्तिम उत्तर कोरियाली नेता उत्तर कोरियाका संस्थापक तथा किमका दिवंगत हजुरबुवा किम इल सुङ थिए । उनले सन् १९५९ मा भाग लिएका थिए ।
परेडमा दुई युरोपेली नेता स्लोभाकियाली प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुचिक मात्र उपस्थित हुने तय भएको छ ।





प्रतिक्रिया