काठमाडौं – कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधिको पहिलो परीक्षण असफल भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।
भूलबस प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरुले दुई सय ३७ बिरामीमा रेमडेसिभिर औषधिको परीक्षण गरेका थिए । जसमध्ये एक सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको बीबीसीले जनाएको छ ।
अध्ययन शुरु गरेको एक महिनामा १३ दशमलव ९ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको थियो । साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो ।




प्रतिक्रिया