चीनले विश्वकै ठूलो बाँध बनाउँदा भारत र बंगलादेशमा त्रास

चीनले विश्वकै ठूलो बाँध बनाउँदा भारत र बंगलादेशमा त्रास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेको छ ।

चिनियाँ प्रधानमन्त्री ली चियाङले गत हप्ता यार्लुङ साङ्गपो नदीमा बाँध निर्माणको शिलान्यास गरेका हुन् । यो नदी तिब्बती पठारका साथै कैयौँ दक्षिण एशियाली देशहरू हुँदै बग्छ ।

यो बाँध निर्माणपछि भारत र बंगलालादेशमा त्रास उत्पन्न भएको छ । किनभने चीनको यो परियोजनाले नदीको तल्लो तटीय क्षेत्रमा बस्ने लाखौँ भारत र र बंगलादेशमा प्रभाव पार्न सक्ने जनाइएको छ ।

तर चीनले यस निर्माणकार्यले पारिस्थितिक प्रणालीको संरक्षणलाई प्राथमिकता र स्थानीय समृद्धिलाई बढावा दिने दाबी गरेको छ । यो काम सम्पन्न हुँदा त्यो विश्वको सबैभन्दा ठूलो थ्री गोर्जेज बाँधलाई उछिनेर तीन गुणा बढी ऊर्जा उत्पादन गर्न सक्छ । थ्री गोर्जेज बाँध पनि चीनमै छ । करिब १६७ अर्ब अमेरिकी डलरको यस परियोजनालाई मोटुओ जलविद्युत् स्टेशन पनि भनिन्छ ।

दिल्ली र ढाकालाई चिन्ता

नयाँ बाँधले चीनलाई सीमापार यार्लुङ साङ्गपो नदीलाई नियन्त्रण गर्न वा मोड्न सक्षम बनाउने भन्दै केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो नदी दक्षिणतर्फ भारतको अरुणाचल प्रदेश र असम राज्यका साथै बंगलादेश भएर बग्छ । तल आएपछि यो सियाङ, ब्रह्मपुत्र र जमुना नदीहरूमा मिसिन्छ ।

एक अस्ट्रेलियाली थिंक ट्यांक लोवी इन्स्टिट्यूटले सन् २०२० मा प्रकाशन गरेको एक प्रतिवेदनले तिब्बती पठारमा अपस्थित यो नदीमाथिको नियन्त्रणले चीनलाई भारतको अर्थतन्त्रमा प्रभावकारी रूपमा दबाव दिने उल्लेख गरेको छ ।

यसका साथै अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डूले बाँध निर्माणको काम पूरा भएपछि सियाङ र ब्रह्मपुत्र निकै सुक्न सक्ने बताएका छन् । ‘बाँधले हाम्रा आदिवासी र जीविकोपार्जनमा अस्तित्वगत खतरा निम्त्याउने छ । चीनले यसलाई एक प्रकारको ‘पानी बम’ को रूपमा समेत प्रयोग गर्न सक्ने हुँदा यो निकै गम्भीर छ’ भारतीय समाचार संस्था पीटीआईसँग अन्तर्वार्तामा मुख्यमन्त्री खान्डूले भनेका छन् ।

विगतमा भारतको केन्द्रसरकारले चीनलाई यस बाँधको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेको थियो । तर चीनले आफ्नो नदीमा बाँध बनाउने वैध अधिकार रहेको र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे विचार गरेको भन्दै भारतीय चिन्ताको जवाफ दिएको थियो ।

बंगलादेशले पनि यस परियोजनाको बारेमा चीनसँग चिन्ता व्यक्त गरेको छ । बंगलादेशी अधिकारीहरूले गत फेब्रुअरीमा बेइजिङलाई पत्र पठाएर बाँधका बारेमा थप जानकारी माग गरेका थिए ।

कस्तो परियोजना?

चिनियाँ अधिकारीहरूले तिब्बत स्वायत्त क्षेत्रमा पर्ने यस बाँध स्थलको जलविद्युत् क्षमतालाई लामो समयदेखि नियालिरहेका छन् । यो जमिनमा भएको संसारको सबैभन्दा गहिरो र लामो घाटी हो । तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्गपोले नाम्चा बर्वा पहाडको वरिपरि यू–टर्न बनाउँछ ।

यस नदी मोडिने क्रममा आफ्नो उचाइबाट सयौँ मिटर तल खस्छ, जसलाई ‘ग्रेट बेन्ड’ भनिन्छ । चीनले नाम्चा बर्वा पहाड हुँदै २० किलोमिटर लामा सुरुङहरू खन्ने योजना बनाएका छन्, त्यसमार्फत् उनीहरूले नदीको भाग मोड्ने छन् ।

चिनियाँ इन्जिनियरहरूले त्यहाँ पाँचवटा क्यास्केडिङ पावर स्टेशन निर्माण गर्न र सुरुङहरूमार्फत् पानी मोड्ने बताएका छन् ।

यस जलविद्युत् बाँधबाट निस्कने बिजुलीले खास गरी तिब्बतका आवश्यकताहरू पूरा गर्दै अन्यत्र समेत वितरण गर्ने चीनको योजना छ ।

चीन सरकार र सरकारी सञ्चारमाध्यमहरूले यो बाँधलाई प्रदूषण घटाउने र ग्रामीण तिब्बतीहरूको उत्थान गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने गरी सबैले जित्ने खालको समाधानको रूपमा प्रस्तुत गरेका छन् ।

तर अभियानकर्मीहरूले यो बाँधलाई तिब्बती र उनीहरूको भूमिमा बेइजिङको दमनको पछिल्लो उदाहरण भएको भन्दै विगतका विरोधलाई समेत दबाइएको बताउँछन् ।