जीएसआइमा नेपालले समर्थन गरेको चिनियाँ दाबी खारेज

जीएसआइमा नेपालले समर्थन गरेको चिनियाँ दाबी खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको हाल चीन भ्रमणलाई लिएर नेपालको लिपुलेकसम्बन्धी अडान र चीनले अघि सारेका तीन वटा सुरक्षात्मक र रणनीचिक पहलका विषयमा नेपालको समर्थनबारे विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री ओली चीनको थियानजिनमा आयोजित सांघाइ कोपरेशन अर्गनाइजेसन (एसओसी)को शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।

शनिबार थियानजिन पुगेका प्रधानमन्त्री ओलीले सोही दिन साँझ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । भेटवार्ता पछि नेपाल र चीनले अलग–अलग वक्तव्य जारी गरे । नेपालले जारी गरेको वक्तयमा लिपुलेकको विषयलाई प्रमुखताका साथ राखिएको उल्लेख छ । यता चिनियाँ विदेश मन्त्रालयले पनि वक्तव्य जारी गरेर चीनद्वारा अघि सारिएको ३ वटा पहलमा नेपालले समर्थन गरेको दाबी गरेको छ ।

चीनले जारी गरेको वक्तव्यमा ग्लोबल सेक्युरिटी इनीसिएटिभ (जीएसआइ), ग्लोबल सिभिलाइजेसन इनीसिएटिभ (जीसीआइ) र ग्लोबल डेभलपमेन्ट इनीसिएटिभ (जीडीआइ) मा नेपालले समर्थन गरेको दाबी गरिएको छ । तर चीनको दाबीलाई नेपाली अधिकारीहरूले अस्वीकार गरेका छन् ।

चीनमा रहेका परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीले जीडीआइलाई मात्र समर्थन गरेको र जीएसआइ जीसीआइबारे प्रसंगै उठेको थिएन ।

नेपालले चीनको ३ वटै पहल जीएसआइ, जीसीआइ र जीडीआइमा समर्थन गरेको भन्ने चीनको एकपक्षीय भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले बताए ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपालले चीनको जीडीआइलाई मात्र स्वीकार गरेको छ । किनकि यो संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)सँग मेल खान्छ । तर जीएसआइ सुरक्षा–सामरिक गठबन्धनको स्वरूप भएकाले यसलाई नेपालले सुरुदेखि नै अस्वीकार गरेको हो । यस्तै जीसीआइमा पनि नेपाल अनिच्छुक छ ।

यसअघि पनि नेपालले बिमस्टेक सैन्य अभ्यास र अमेरिकी स्टेन पार्टनरसिप पोग्राम (एसपीपी) मा सहभागी हुन अस्वीकार गरिसकेको छ ।

के हो जिएसआइ ?

जीएसआइ चीनको सुरक्षा अवधारणा हो । ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) चीनले विश्व सुरक्षाका लागि भन्दै अगाडि सारेको सुरक्षासँग जोडिएको रणनीतिक अवधारणा हो । चीनले सन् २०१३ यता बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत एसिया, अफ्रिका र युरोपलाई स्थल, जल र हवाई मार्गमार्फत् जोडेर बहुपक्षीय क्षेत्रीय एकता, व्यापार विस्तार र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने जनाएको छ ।

बीआरआई विश्वका विभिन्न मुलुकमा लागू भइरहेको भए पनि प्रभावकारी ढंगले अघि बढ्न नसकेपछि चीनले पछिल्लो समय ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) मार्फत विकास केन्द्रित र ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मार्फत् सुरक्षाकेन्द्रित रणनीति बनाएर अघि बढिरहेको छ ।

कतिपय विश्लेषण्कहरूले अमेरिकाले अगाडि सारेको इन्डोप्यासिफिक स्ट्राटेजिमार्फत् एसियामा सैन्य उपस्थिति बढाएपछि त्यसलाई काउन्टर दिन चीनले जीएसआई ल्याएको बताइरहेका छन् ।

चीनले नेपाललाई पनि जीएसआईमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेपालले अमेरिकाको सैन्य रणनीति एसपीपीमा सहभागी नहुने निर्णय मन्त्रिपरिषद्बाटै गरिसकेको हुँदा जीएसआईमा पनि सहभागी नहुने जवाफ दिइसकेको छ ।