एजेन्सी – चीन विश्वकै धनी देश बनेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी मुलुक बन्न सफल भएको हो । पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ ।
विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स सिट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो । २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ ।
रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १ सय ५६ ट्रिलियन डलर थियो । २०२० मा आइपुग्दा विश्वको कुल सम्पत्ति बढेर ५ सय १४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कूल सम्पत्तिमध्ये एक–तिहाई हिस्सा चीनको रहेको छ ।
सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको रिपोर्टमा उल्लेख छ ।




प्रतिक्रिया