चिनियाँ विकास र समृद्धिको ‘चियाङसु मोडल’ ! प्राविधिक उत्पादनदेखि सामुद्रिक निर्यातसम्म

चिनियाँ विकास र समृद्धिको ‘चियाङसु मोडल’ ! प्राविधिक उत्पादनदेखि सामुद्रिक निर्यातसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका प्रधानमन्त्री ली चियाङ कुनै बेला चीनको चियाङसु प्रान्तका पार्टी सचिव थिए । चियाङसु चीनमा ग्वाङडोङ प्रान्तपछि सबैभन्दा धनी प्रान्तका रूपमा चिनिन्छ । चियाङसुको विकास र समृद्धि लोभलाग्दो मात्र छैन, यो प्रान्तले आधुनिक चीनमा एउटा छुट्टै स्थान समेत बनाउन सफल भएको छ ।

चाइना डेलीले आयोजना गरेको ‘हाई चियाङसु ट्रिप २०२३’ कार्यक्रममा सहभागीलाई विकास र समृद्धिबारे जानकारी दिइएको थियो । यो प्रान्त प्राविधिक कम्पनीहरूका लागि चर्चित पनि छ । त्यति मात्र होइन, यसले अर्थतन्त्र, शिक्षा र पर्यटन क्षेत्रमा समेत निकै ठूलो प्रगति गरेको छ ।

चियाङसु कोस्टल प्रान्तका साथै चीनमा तेस्रो सानो प्रान्तका रूपमा समेत चिनिन्छ तर, जनसंख्या थोरै भएपनि अर्थतन्त्रको हिसाबले यो प्रान्त निकै शक्तिशाली छ । यो प्रान्तको जीडीपी करीब १.८३ ट्रिलियन अमेरिकन डलर छ । १९७८ मा चीनमा भएको आर्थिक सुधारपछि यो प्रान्तले आर्थिक रूपमा निकै प्रगति हासिल गरेको छ ।

यहाँको प्रतिव्यक्ति आय समेत चीनका अरु राज्यभन्दा बढी छ । त्यति मात्र होइन, यो राज्य इलेक्ट्रोनिक सामग्री, रसायन र कपडा निर्यातमा प्रसिद्ध छ । चियाङसु हवाई, रेल (हाई स्पीड) सबवे र एक्सप्रेस हाइवेको पनि विशाल नेटवर्क भएको प्रान्तका रूपमा चिनिन्छ ।

चीनमा चियाङसु प्रान्त वैदेशिक लगानी समेत सबैभन्दा बढी भित्र्याउन सफल छ । यहाँका नानजिङ, सुजाओ, याङझाओ र टाइसिङ लगायतका शहर चीनमा वैज्ञानिक व्यवस्थापन भएका शहरका रूपमा समेत चिनिन्छन् । त्यसका साथै यो प्रान्तमा १०० भन्दा बढी आर्थिक र प्राविधिक विकास केन्द्रहरू स्थापना भएका छन् ।

यसमध्ये राजधानी नानजिङको काठमाण्डु महानगरपालिकासँग भगिनी सम्बन्ध समेत स्थापना भएको छ । कुनै बेला चीनको नै केन्द्रीय राजधानी समेत रहिसकेको नानजिङको बेग्लै इतिहास छ । त्यतिमात्र हैन विश्वको वैज्ञानिक अनुसन्धान उत्पादनको आधारमा यो शहर ८ औं र सुजाओ ४५औं शहर बन्न सफल भएको छ ।

हालैका वर्षमा यो प्रान्तले सेन्ट्रल एसिया र युरोपसँग रेल लिंक समेत जोडेको छ । उनीहरूले काजकिस्तान, रसिया र युरोपसम्म रेलमार्फत व्यापार व्यवसाय समेत गरिरहेका छन् । चीनको चियाङसु प्रान्त मातहतका नानजिङ, लियानयुङगाङ, टाइसिङ र याङजोओ लगायतका ५ शहरमार्फत २३ वटाभन्दा बढी सामुन्द्रिक मार्गहरू सञ्चालन भइरहेका छन् ।

यहाँमार्फत युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका ८० शहरहरूमा मालसामानहरू पुग्ने गर्दछन् । पछिल्लो जनवरीदेखि अगस्टसम्म मात्र चियाङसुले १ हजार ५०४ वटा मालबाहक रेलहरू पठाएको छ । बीआरआईको पहिलो परियोजना समेत यसै प्रान्तबाट लागू भएको छ ।

चीन र काजिकिस्तानबीच २०१३ मा चीन काजिकिस्तान लोजेस्टिक कोअपरेसन वेश समेत दुवै देशका राष्ट्रपतिको अगुवाइमा यहीबाट सुरु भएको थियो । अहिले यो वेशमार्फत ठूलो संख्यामा दुवै देशबीच व्यापार भइरहेको छ । समग्रमा चियाङसु चीनको अर्थतन्त्रको मेरुदण्ड हो भन्दा फरक पर्दैन । यसबाट छिमेकी मुलुक र युरोपसम्मले लाभ लिइरहेका छन् । नेपालले समेत यो प्रान्तबाट लाभ लिन सक्ने धेरै सम्भावना छ ।