चिनियाँ राष्ट्रपति र हङकङकी कार्यकारी प्रमुखबीच भेटवार्ता


एजेन्सी – चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामबीच भेटवार्ता भएको छ । हङकङमा चार महिनादेखि सुपुर्दगी विधेयकको विरोध भइरहँदा दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो ।

सांघाईमा भएको वार्तामा सिले क्यारी ल्यामको नेतृत्वमा पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ । हङकङ प्रदर्शन उग्र बन्दै जाँदा र चीन विरोधी गतिविधि बढ्दै गर्दा ल्यामलाई चीनले हटाउन सक्ने आंकलन गरिएको थियो ।

यद्यपि, चीनले आन्दोलन उत्कर्षमा रहेको बेलामा समेत ल्यामको नेतृत्व परिवर्तन नहुने बताएको थियो । सिले भेटका क्रममा मिलेर हङकङमा शान्ति सुव्यवस्था कायम गर्ने बताएका थिए ।

हङकङ सरकारले सुपुदर्गी विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका छैनन् । उनीहरुले विधेयक फिर्ता लिएपनि ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ । प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ ।

हाल प्रदर्शनरत पक्षलाई आतंकवाद सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement