काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनप्रति चासो राख्दै चीनबाट उच्चस्तरीय टोली काठमाडौंमा दौडधुप गरिरहेका बेला अकस्मात भारतीय विदेश मन्त्रालयको टोली समेत काठमाण्डु आएको छ । भारतीय विदेश मन्त्रालयका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा निधि आनन्द र विनय बहल सम्मिलित टोली काठमाण्डु आएको हो ।
भारतीय टोलीको कुनै औपचारिक कार्यक्रम नरहेको र आन्तरिक निरीक्षणका लागि टोली आएको भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि काठमाण्डुमा चिनियाँ पक्षको सक्रियता बढेको छ ।
आईतबार काठमाडौं पुगेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले काठमाण्डुमा धमाधम नेताहरूलाई भेटिरहेको छ । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटा, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेटिसकेको छ ।
चिनियाँ टोलीले संसद विघटनपछिको अवस्था र नेकपा पुनः एकीकृत हुने उपायबारे छलफल गरिरहेको स्रोतहरूले जनाएका छन् । संसद विघटनको निर्णयपछि नेकपा ओली र प्रचण्ड पक्ष गरी दुई खेमामा विभाजित भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले सोमबारको नियमित पत्रकार सम्मेलनमा नेकपासँग सीपीसीको पुरानो सम्बन्ध रहेकाले पार्टी विभाजनबारे चासो राख्नु र विवाद समाधान होस् भन्ने सद्भाव राख्नु स्वाभाविक भएको प्रतिक्रिया दिएका थिए । प्रवक्ता झाओले नेपालको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने चीनको कुनै नीति नरहेको समेत प्रस्ट पारेका थिए । उनले नेपालमा सधै हस्तक्षेप गर्दै आएको भारतले चीनविरुद्ध भ्रम फैलाउने र शंका गर्ने काम गरेको आरोप समेत लगाएका थिए ।
भारतले भने नेपालमा विकसित घटनाक्रमलाई ‘नोट’ गरेको मात्रै जनाएको छ । नेपालले आफ्नो आन्तरिक मामिलालाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्ने समेत भारतले जनाएको छ । संसद विघटन र नेकपा विभाजनबारे स्पष्ट प्रतिक्रिया नदिएका चीन र भारतका टोली काठमाण्डुमा सक्रिय छन् । चिनियाँ टोलीका गतिविधि नेपाली सञ्चारमाध्यममा आइरहेपनि भारतीय टोलीको गतिविधिबारे केही सार्वजनिक भएको छैन ।
नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले भारतबाट आएको टोली पुनर्निर्माणको काम हेर्न आएको बताए । उनका अनुसार टोलीको कुनै राजनीतिक उद्देश्य छैन । ‘भूकम्पका बेला दूतावासको भवन चर्केको थियो, त्यो भवन निरीक्षण गर्ने र पुननिर्माणको काम हेर्ने टोली आएको हो,’ उनले भने ।
संसद विघटनपछि ओली पक्षीय नेकपा आगामी बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा लागेको छ भने प्रचण्ड–नेपाल पक्ष संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको छ ।




प्रतिक्रिया