नयां दिल्ली – भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले तिब्बती धर्म गुरु दलाई लामाका प्रतिनिधिलाई भेटेपछि चीनले कडा आपत्ति जनाएको छ । अमेरिकी विदेशमन्त्रीले बुधवार भारतको राजधानी नयां दिल्लीमा लामाका प्रतिनिधिसंग भेटवार्ता गरेका थिए ।
यसअघि गत जुलाई ६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामाको जन्मदिनको अवसरमा शुभकामना दिएकोप्रति पनि चीनले कडा आपत्ति जनाएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने भन्दै अमेरिकाले त्यो प्रतिवद्धताको उल्लंघन गरेको बताए ।
लिजियानले तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको भन्दैमा यसमा विदेशी हस्तक्षेप स्वीकार नहुने प्रष्ट पारे । उनले दलाई लामा लामो समयदेखि चीन विरोधी गतिविधिमा संलग्न रहेको आरोप समेत लगाए ।
प्रवक्ता झाओले भने, ‘ दलाई लामा तिब्बतलाई चीनबाट अलग गर्ने प्रयासमा छन्। अमेरिकाले समेत तिब्बत चीनको हिस्सा हो भनेर स्विकार गरेको छ । अमेरिकी विदेशमन्त्रीको भेट अमेरिकाको त्यो प्रतिवद्धताकोउल्लंघन हो। अमेरिका आफ्नो प्रतिवद्धतामा कायम रहनुपर्छ । ’
चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने पनि उनले चेतावनी दिएका छन् ।




प्रतिक्रिया