‘चीनको प्रभाब नेपालमा मात्र होइन विश्वमा नै फैलिरहेको छ’ 


-डा. निहार नायक 

पछिल्लो समय भारतमा बसेर नेपालको सुरक्षा मामला, राजनीतिक घटना, विकास र परिबर्तनलाई पछ्याईरहने व्यक्ति हुन्, डाक्टर निहार नायक । भारतको नयां दिल्लीस्थित इन्सिट्च्युट फर डिफेन्स स्टडिज एण्ड एनालाइसिस (आइडिएसए) का रिसर्च फेलो डाक्टर निहारले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिमा विद्यावारिधी गरेका छन् । उनको Strategic Himalayas: Republican Nepal and External Powers पुस्तक प्रकाशित छ । डाक्टर निहारसंग नयां दिल्लीबाट काठमाडौंपाटी डट्कम्का लागी नरेन्द्र रौलेले गरेको कुराकानी : 

पछिल्लो समय भारत र नेपालमा थुप्रै राजनीतिक परिबर्तनहरु देखा परेका छन् । भारतको नेपालप्रतीको निती के हो ?

-भारतमा अहिले भारतीय जनता पार्टी (बिजेपी) को सरकार छ । दोस्रो पटक गत मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठन गरेका छन् । पहिलो कार्यकालमा मोदीले २०१४ देखी २०१९ सम्म नेबरहुड फस्र्ट (पहिला छिमेक) निती अपनाए । सुरुमा भुटान र त्यसपछि नेपालको भ्रमण गरे । मोदीको पहिलो नेपाल भ्रमण धेरै हदसम्म सफल रह्यो । काठमाडौंका सडकमा हिंड्दा मोदीले नेपालीहरुको अपार स्वागत पाए । दोस्रो कार्यकालमा पनि मोदीले नेबरहुड फस्र्ट निती अपनाइएको पाइन्छ । यस पटक पहिला माल्दिभ्सको भ्रमण गरे । त्यस क्रममा छोटो समयका कोलम्बो लागी उत्रिए । तेस्रो भ्रमण भर्खरै भुटानको सकियो । भुटान भ्रमण एकदम सफल रह्यो ।  

नेपाल भारत सम्बन्धको कुरा गर्दा यतिखेर राम्रै छ । बिगतमा नेपालले संबिधान जारी गर्दा, नाकाबन्दि र मधेस आन्दोलनका बेला भने केही उतारचढाब भए । सन् २०१८ मा विदेशमन्त्री शुष्मा स्वराजले नेपाल भ्रमण गरेर सम्बन्ध सुधार्ने प्रयास गरिन् । हाम्रा विदेशमन्त्री एस.जयशंकरले यस पटक नेपाल भ्रमण गर्नुभयो ।  

भारतीय जनता पार्टी (विजेपी) दोस्रो पटक भारी मतका साथ विजय भएको छ । नेपालका लागी यसको सन्देश के हुन सक्छ ? र, नेपालमा यसको प्रभाब के हुन सक्छ ?

-दुइ वटा स्पष्ट सन्देश छन् । पहिलो कुरा प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारमा सामेल बिजेपीका बरिष्ठ नेताहरुले छिमेकी देशलाई महत्व दिने निती लिएका छन्  । भारत विकसित हुदैछ । आर्थिक सम्बृद्धिको बाटोमा अग्रसर छ भन्ने सन्देश छिमेकमा छर्न चाहन्छन् । बिजेपी चाहन्छ, छिमेकी देशमा राजनितीक स्थिरता कायम होस्, अर्थतन्त्र बलियो बनोस्, विकास र सम्बृद्धिको बाटोमा अघि बढोस् । जसले गर्दा भारतले पनि आफूलाई सुरक्षित र बलियो महशुष होस् । बिजेपी सरकारले प्रष्ट रुपमा यहि चाहेको छ । 

के बिजेपीले नेपाललाई हिन्दु राष्ट्र बनाउन प्रयास गर्ला ?

-त्यसो होइन । नेपालमा त्यो खालको धारणा भने पाईन्छ । तर खासगरी बिजेपीले सुरक्षा, आर्थिक उन्नती र विकासमा जोड दिन चाहन्छ । हिन्दु राष्ट्र बनाउने कि नबनाउने त्यो कुरा पूर्ण रुपमा नेपाली जनताको स्वतन्त्रताको कुरा हो । नेपाली जनताले जे चाहन्छन्, त्यसमा भारतको सहानुभुति त रहन्छ नै । मानौं, नेपाली जनताले धर्मनिरपेक्षबाट हटेर हिन्दु राष्ट्र चाहन्छौं भन्ने निर्णय लिए भने छिमेकी भएका कारण हामीले स्वीकार्नै पर्छ । अर्को कुरा भारतमा बहुसंख्यक हिन्दु छन् । यसको अर्थ बिजेपीले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्छ भन्ने होइन । 

हालै नेपाली कांग्रेसका नेता प्रदीप गिरीले भारतले चाह्यो भने नेपाललाई सिक्कीम बनाउन सक्छ भन्ने अभिव्यक्ति दिए । के त्यस्तो सम्भब छ र ?

-म यो सहमत छैन । मलाई प्रदिप गिरीको अभिव्यक्ति सुनेपछि एकदमै दुःख लाग्यो । भारतमा लामो समय बसेका प्रदिप गिरीले भारत र भारतीय जनताहरुलाई अझ राम्रोस“ग बुझेका छन् जस्तो लाग्थ्यो । तर उनले यस्तो अभिव्यक्ति दिन्छन् जस्तो लागेको थिएन । 

प्रदिप गिरीको यो कुरा तर्कसंगत छैन । भारतले नेपाललाई सिक्कीम बनाउन सक्ने कुराको प्रमाण के छ र ? नेपाल स्वतन्त्र सार्बभौम देश हो । संयुक्त राष्ट्रसंघमा पनि आबद्ध छ । सिक्कीमको उदाहरण बेग्लै हो । नेपाल र सिक्कीमको तुलना हुन सक्दैन । प्रदिप गिरीको समस्या भनेको भारतसंग होईन बिजेपीसंग हो । नेपालमा समाजवादी भनेर चिनिएका त्यस्ता धेरै व्यक्तिहरु छन् जसको भारतसंग होईन विजेपी सरकारसंग समस्या छ । 

हालैका दिनमा जम्मु–कश्मिर मुद्धा चर्किरहेको छ । यसमा तपाईको मुल्यांकन के छ ?

-सन् १९९० देखी जम्मु कश्मिर मुद्धा चर्किरहेको छ । यसमा भारतको भन्दा पाकिस्तानको बढी हात छ । पाकिस्तानले रगतको खोलो बगाउन खोजिरहेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालैको अमेरिका भ्रमणमा आफैले के खुलासा गरिरहेका छन् भने त्यहा ४० वटा आतंककारी समुहले गतिबिधी गरिरहेको बताएका छन् । 

आतंककारी समुहलाई बढावा दिने क्रियाकलापमा पाकिस्तान सक्रिय छ । भारतले त जम्मु कश्मिरमा सुरक्षा प्रदान गरिरहेको छ ।  

जम्मु कश्मिर मुद्धाले दक्षिण एसियामा द्वन्द्वको असर फैलिने डर देख्नुहुन्छ ?

-मेरो विचारमा पक्कै असर गर्दैन । यो भारतको निजी मामला हो । एक पटक यस क्षेत्रमा चीनसंग युद्ध भएको थियो । के त्यसको कुनै असर प¥यो ? नेपाल जम्मु कश्मिरबाट धेरै टाढा छ । पाकिस्तान र भारतमा मात्र यसको असर पर्न सक्छ । अन्यत्र पर्दैन । 

नेपालमा चीनको प्रभाब क्रमश बढिरहेको छ । चीनको लगानी र ब्यापार लगायतका गतिबिधीहरु हेर्दा पनि त्यो देखिन्छ । भारतले यसलाई कसरी हेरिरहेको छ ? 

-भारतले यसलाई मुख्य चुनौतिका रुपमा लिएको छैन । चीनको प्रभाब नेपालमा मात्र होइन विश्वमा नै फैलिरहेको छ । अहिलेको समयमा चीन दोस्रो आर्थिक महाशक्ति हो । भारतमा पनि चीनका ३५ वटा कम्पनिहरु छन् । चाइनिजहरुले पुन निमार्णका क्षेत्रमा हात हालेका छन् । त्यसकारण हामीले चुनौती महशुष गरिरहेका छैनौं । चीनले नेपालमा सुरु गरेका निमार्ण गरेका कुन कम्पनि सफल भएका छन् ?

बुढीगन्डकी, पश्चिम सेती कुन प्रोजेक्ट सफल भएका छन् ? कहा छ चीनको लगानी ? चाइनिजले नेपाली बजारमा कुनै रोजगारीको वातावरण सिर्जना गरेका छन् र ? कुन क्षेत्रमा चीनले काम गरेको छ ?बरु नेपाल र भारत धेरै हिसाबले बाधिएका छन् । सांस्कृतिक रुपमा, भाषा र रोजगारीका रुपमा जोडिएका छन् ।  

यतिबेला नेपालमा रेलको खुब चर्चा चलेको छ । नेपालीहरुले रेल चढ्ने रहर पालेका छन् । भारतबाट काठमाडौं रेल कनेक्सन सम्भब छ ?

-जयनगर–जनकपुर रेल अपग्रेड हुने तयारी छ । यो रुटमा बिगतमा पनि चलेको हो । बिरगन्ज–काठमाडौं रुटबारे प्राबिधिक अध्ययनको तयारी हुनु जरुरी छ । अबको ५ देखी ७ वर्षमा बिरगन्ज काठमाडौं रेल सम्भब छ । तराईमा रेल सेवा बिस्तार गर्न जति सजिलो छ, भौगोलिक रुपमा कठिनाई भएकाले पहाडमा भने गा¥हो छ । तर, भारत सरकार काठमाडौं रेल बिस्तार गर्ने विषयमा प्रतिबद्ध छ । 

नेपालमा केही राजनीतिक दलले राजतन्त्रको पुनःस्थापनाका लागी आवाज उठाउन थालेका छन् । यदाकदा छिटफुट एउटा तप्काले राजतन्त्रको समर्थनमा नारा लगाएको पनि सुनिन्छ । के नेपालमा राजतन्त्र फर्किएला ? 

– मैले नेपालको विकासक्रमलाई नियालिरहेको छु । भारतीय नागरिकका हिसाबले मैले यो मामला त्यति धेरै बुझेको त छैन । यो निर्णय नेपाली जनताको हातमा छ । नेपालमा राजतन्त्र, बहुदल जे भए पनि भारतले बिगतमा सहकार्य गरेकै थियो । छिमेकी अन्य देशमा जे जस्ता व्यवस्था आएपनि भारतले सहकार्य, समझदारी गरेरै अघि बढेकै हो । कुन ब्यबस्था ल्याउने त्यो त जनताको चाहना हो ।

सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दी लगाएको भुलेका छैनन् । के भविष्यमा यस्तै घटना दोहोरिने सम्भाबना छ ?

-पहिलो कुरा भारतले नेपालमाथि नाकाबन्दी लगाएको होइन । नेपालकै मधेसी नेता, मधेसी दलहरुले नाकाबन्दी लगाएका हुन् । बरु भारतले नाकाबन्दी लगाएकै होइन । भारत सरकार त नेपाललाई सहयोग गर्न तत्पर नै थियो । भारत त्यो मामलामा तटस्थ थियो । पछि विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री केपी ओलीस“ग कुरा गरेर समन्वय गरेकी हुन् । फेरी नेपाली जनता त्यतीबेलै चीनसंग सम्बन्ध बनाएर आपूर्तीका लागी पहल ग¥यो । अर्को नाकाबन्दी लाग्छ कि भनेर किन चिन्ता गर्नु ?

नेपाल र भारतले आर्थिक सम्बृद्धिका लागी साझेदारी गरेर कसरी अगाडी बढ्न सक्छन् ?

-दुबै देशका लागी प्रशस्त सम्भाबनाहरु छन् । जस्तो कि भारतमा तरकारीको ठूलो बजार छ । नेपालको हावापानी यति उपयोगी छ कि ३ सय ६५ दिन नै तरकारी उत्पादन गरेर भारतलाई बेच्न सक्छ । त्यस्तै भारतले नेपालबाट १० देखी २० हजार मेगावाट बिजुली किन्ने योजना बनाएको छ । हर्बल मेडिसिनका क्षेत्रमा उत्तिकै ठूलो सम्भाबना छ । यस्ता सम्भाबना भएका क्षेत्रमा दुबै देशले साझेदारी अगाडी बढ्दा दुबैलाई फाइदा छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement