चीनबाट १० महिनामै ४३ अर्ब लगानी भित्रियो


काठमाडौं- पछिल्लो समय नेपालमा चीनको लगानी उल्लेखनीय रूपमा बढ्दै गएको छ । नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको हो ।

उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जब कि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । विभागमा आएको लगानी प्रतिबद्धतामा चिनियाँ हिस्सा झन्डै ९० प्रतिशत रहेको छ । अर्थात् उक्त १० महिनामा चीनले नेपालमा ४३ अर्ब १० करोड रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता गरेको हो ।

सम्मेलनबाट ८ खर्ब प्रतिबद्धता
गत वर्ष सरकारले आयोजना गरेको विदेशी लगानी सम्मेलनमा सहभागी चिनियाँ कम्पनीले नेपालमा ८ खर्ब रुपैयाँ लगानी गर्न इच्छा देखाएका थिए । सम्मेलनमा सहभागी आधा दर्जन कम्पनीले जलविद्युत्, सुरुङमार्ग, सडक तथा एयरपोर्टलगायत क्षेत्रमा ८.३ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेका थिए । सम्मेलनमा कुल १४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसमध्ये करिब ६० प्रतिशत लगानी प्रतिबद्धता हिस्सा चीनको थियो ।आजको नयांपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement