काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई हतकडी लगाएरै पुर्‍याइयो विमानस्थल

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई हतकडी लगाएरै पुर्‍याइयो विमानस्थल


काठमाडौं – काठमाडौंमा पक्राउ परेका १ सय २२ चिनियाँलाई आईतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चार्टर्ड विमान चाइना इस्टर्न र वेस्टर्नमा राखेर उनीहरुलाई चीन लगिएको हो ।

महानगरीय परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले विभिन्न आठओटा वृतमा रहेका उनीहरूलाई विमानस्थल पुर्‍याइएको बताए । उनीहरूलाई प्रहरी भ्यानका साथै भाडाका बसमा राखेर विमानस्थल पुर्‍याइएको छ । उनीहरूलाई हतकडी नै लगाएर लगिएको हाे ।

यसअघि काठमाडौंको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । जसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हजार रुपैयाँ जरिवाना तिराउने आदेश दिएका थिए ।

लगत्तै, अध्यागमन ऐन अनुसार कारबाहीका लागि भन्दै १२२ चिनियाँलाई अध्यागमन विभाग बुझाइएको थियो । विभागले एक र दुई हजार रुपैयाँका दरले जरिवाना सजाय तोकेको थियो । जरिवाना वापतको रकम मंगलबार नेपालस्थित चिनियाँ दूतावासले तिरिसकेको छ ।

पक्राउ परेकाहरु चिनियाँ नागरिक नेपालमा बसेर चीनविरुद्ध साइबर अपराध गर्दै आएको चिनियाँ अधिकारीहरुको दाबी छ । तर, नेपाल प्रहरीले गरेको अनुसन्धानले भने चिनियाँ नागरिकको कुनै कसूर देखिएको छैन । नेपालमा बसेर चीनमा विभिन्‍न अपराधमा संलग्‍न भएको आरोपमा पुस ४ गते उनीहरू पक्राउ परेका थिए । पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ ।

प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्‍न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको बताएको थियो । पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगायतका देशका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने आपराधिक योजना बनाएका थिए ।