काठमाण्डुमा ‘चिनियाँ मिसन’ : कति सफल, कति असफल ?

काठमाण्डुमा ‘चिनियाँ मिसन’ : कति सफल, कति असफल ?


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि अकस्मात काठमाण्डु आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको छ । टोलीले काठमाण्डुमा रहँदा ४ दिन खुबै दौडधुप ग¥यो तर नतिजा केही देखिएन ।

फुटिसकेको नेकपा फुटाउने सम्भावना खोज्न काठमाण्डु आएको ‘चिनियाँ मिसन’ फर्किंदासम्म नेकपाका नेताहरू एकअर्काविरुद्ध झन्झन् आक्रामक भएर प्रस्तुत भइरहेका छन् । चिनियाँ टोलीको भेटले न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरम भएका छन्, न प्रधानमन्त्री केपी शर्मा ओली ।

चिनियाँ उपमन्त्री गुओले प्रचण्ड र माधवकुमार नेपाललाई भेटिसकेपछि मंगलबार काठमाण्डुको भृकुटीमण्डपमा विरोधसभा भयो । सभामा प्रचण्ड र नेपाल दुवैले सम्बोधन गरे तर प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नै देखिए । बुधबार काठमाण्डुमै ओली पक्षीय सुदूरपश्चिमका नेता कार्यकर्ताको भेला भयो, जसमा ओली स्वयं उपस्थित भएर प्रचण्ड–नेपालविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।

चिनियाँ टोली आउनुअघि नै प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेको थियो । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, अध्यक्षबाट हटाउने काम गरेकाले प्रचण्ड–नेपाल समूहसँग पुनः एकताको सम्भावना नरहेको बालुवाटारले चिनियाँ टोलीलाई स्पष्ट सन्देश दिइसकेको थियो । चिनियाँ टोली प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार नै पुगेको थियो ।

प्रचण्ड–नेपाल पक्षले भने संसद पुनःस्थापना भएमा ओलीसँग पुनः एकता हुनसक्ने सम्भावना बताउँदै आएको थियो । तर ओली संसद पुनःस्थापना गर्न तयार देखिएनन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिसकेका छन् । ओली निर्वाचनको तयारीमा जुटेका छन् भने प्रचण्ड–नेपाल पक्ष संसद पुनःस्थापनाको माग गर्दै सडक संघर्षमा छन् । दुवै पक्ष फरक–फरक बाटोमा हिँडेकाले तत्काल नेकपाको पुनः एकताको सम्भावना थिएन, छैन ।

पुनः एकतामा असफल !

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले गत सोमबारको नियमित पत्रकार सम्मेलनमा नेकपा विवाद मिलाउन सहजीकरण गर्न चिनियाँ टोली काठमाण्डु गएको संकेत गरेका थिए । उनले नेकपासँग सीपीसीको पुरानो सम्बन्ध रहेकाले पार्टी विभाजनबारे चासो राख्नु र विवाद समाधान होस् भन्ने सद्भाव राख्नु स्वाभाविक भएको प्रतिक्रिया दिएका थिए ।

प्रवक्ता झाओले नेपालको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने चीनको कुनै नीति नरहेको समेत प्रस्ट पारेका थिए । उनले पार्टीका विवाद मिलाउने सम्बन्धमा आफ्नो अनुभव साटासाट गर्ने समेत बताएका थिए । तर चिनियाँ टोलीको अनुभव नेपाली माटोमा खरो उत्रिन सकेन ।

नेकपा विवाद र फुटको स्थलगत सूचना संकलन गरेर चिनियाँ मिसन फर्किएको छ । यत्ति काम काठमाण्डुस्थित चिनियाँ राजदूत होउ यान्छीले गरिसकेकी थिइन् । पार्टी एकता गराउने अतिरिक्त उद्देश्यसहित काठमाण्डु आएको चिनियाँ मिसन रित्तो हात फर्किएको छ ।

चिनियाँ मिसन आउनुअघि नै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाद्वय अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा र पूर्व मन्त्री वर्षमान पुनलाई भेटिसकेकी थिइन् । नेकपा विवाद, फुटको कारण, पुनः एकताको सम्भावना नरहेकोबारे उनी धेरै नजिकबाट जानकार थिइन् । तर चिनियाँ मिसनले अन्तिम प्रयास गरेको थियो, सफल हुन सकेन ।

भेटघाट र सम्बन्ध विस्तारमा सफल

चिनियाँ टोली काठमाण्डुमा तीव्र रूपमा सक्रिय भएर नेताहरूसँग भेटघाट र सम्बन्ध विस्तारमा भने सफल भएको छ । फुटिसकेका नेकपाका दुवै पक्षसँग चिनियाँ मिसनले सम्बन्ध पुनर्ताजगी गरेको छ । यो चिनियाँ मिसनको सफल पक्ष हो ।

चीनले नेकपाको फुटलाई गम्भीर रूपमा लिएको र पुनः एकता गराउन कोसिस गरेको सन्देश देशभरका नेकपा कार्यकर्तामा गएको छ, यसले चीनलाई हेर्ने कम्युनिस्ट कार्यकर्ताको दृष्टिकोण सकारात्मक हुनेछ । यससँगै कम्युनिस्टइतरको खेमामा चीनले पनि नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ र हस्तक्षेप गर्न थालेको सन्देश गएको छ, यसले चीनलाई हेर्ने नकारात्मक दृष्टिकोण समेत बन्न सक्ने देखिएको छ ।

चिनियाँ मिसन टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटा, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेटेको छ ।

चिनियाँ मिसनलाई काठमाण्डुमा ओलीका विश्वासपात्र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रचण्डका विश्वासपात्र जनार्दन शर्मा ‘प्रभाकर’ले निकट रहेर सघाएका छन् । चिनियाँ मिसन चीन फर्केपछि पनि दुवै नेतासँग सम्पर्कमै रहने र पुनः एकताका लागि कोसिस गर्ने चिनियाँ दूतावास स्रोतले जानकारी दिएको छ ।