चीनबाट ल्याइएका विद्यार्थी राख्न सरकारले गर्‍यो क्वारेन्टाइनको व्यवस्था

चीनबाट ल्याइएका विद्यार्थी राख्न सरकारले गर्‍यो क्वारेन्टाइनको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चीनबाट नेपाल आउन चाहने विद्यार्थी र नागरिकका लागि चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ । सरकारले शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बन्धित मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा गराएका थिए ।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।