काठमाडौं – महामारीको रुपमा विश्वभरी फैलिएको नोभेल कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई सहयोग गर्र्ने नेपालले प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल सरकारले कोभिड–१९ विरुद्ध संघर्षरत चीनलाई आफ्नो बलियो साथ रहेको नेपालले जनाएको हो ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी वाङ यीसँग सोमबार टेलिफोन सम्वाद गरेका थिए । मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपालको बलियो साथ रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार समकक्षी वाङ यीसँग टेलिफोन सम्वाद गर्नु भएको छ’, मन्त्रालयले भनेको छ, ‘समकक्षीसँगको सम्वादका क्रममा उहाँले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपालको साथ र सहयोग रहने बताउनुभएको छ ।’
त्यसक्रममा विदेमन्त्री वाङ यीले एक साताअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका थिए ।
चीनमा कोरोनाबाट अहिलेसम्म तीन हजार एक सय १२ जनाले ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका १०३ मुलुकमा पुगिसकेको छ । कोरोनाकै कारण नेपालले चीनसँग जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द गरिदिएको छ ।




प्रतिक्रिया