स्वास्थ्यमन्त्रीको विवादास्पद अभिव्यक्तिः चीनबाट केही सिक्ने कि !

स्वास्थ्यमन्त्रीको विवादास्पद अभिव्यक्तिः चीनबाट केही सिक्ने कि !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य, जनसंख्यामन्त्री भानुभक्त ढकाल विवादमा तानिएका छन् । स्वास्थ्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले गैरजिम्मेवार जवाफ दिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता/कार्यकर्ताहरु नै रुष्ट बनेका हुन् ।

मन्त्री ढकालले विश्वभरी नै महामारीको रुप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित व्यक्तिले स्व इच्छाले क्यावरेन्टाइन्मा बस्नुपर्ने बताएका थिए । मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले सरकारले चीनको बुहानबाट ल्याइएका विद्यार्थीलाई जस्तो उद्धार र क्वारेन्टाइनमा राख्न नसक्ने बताएका थिए ।

ढकालले कोरोना संक्रमणको आशंका लागेमा सरकारले क्वारेन्टाइनमा नराख्ने र नागरिकहरू आफैं ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने बताएका थिए ।

‘क्यारेन्टाइन भन्नेबित्तिकै मान्छेहरूले हिजो चीनबाट विद्यार्थी ल्याएजस्तै सरकारले ल्याइदिने, सबै सरकारकै व्यवस्थापनमा बस्ने भन्ने कुरा नगरौं अब सेल्फ क्वारेन्टाइनमा मान्छेहरू बस्नुपर्छ,’ मन्त्री ढकालले भनेका थिए, ’डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्डभित्र बस्नुर्पयो ।’

स्वास्थ्यमाथि खेलवाड गर्ने स्वास्थ्यमन्त्री !

नेपालको संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्र्तगत राखेको छ । संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक उल्लेख गरिउको छ । उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन् भनेको छ ।

तर, सरकारका जिम्मेवार मन्त्रीले नै विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरससँग आफैं लड्न नेपाली नागरिकलाई सुझाव दिए । उनको यस्तो गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले नेपालका सिंगो जनता आक्रोशित छन् । सरकारले नागरिकको जीवन सुरक्षाका लागि विभिन्न प्याकेजहरु सार्वजनिक गर्दछ । सकेसम्म घरघरमै उपचार पुर्याउँछ । औषधि नपुगेका ठाउँहरुमा औषधिको व्यवस्था गर्ने, कुने ठाउँमा महामारी फैलिए राज्य कोषबाट खर्च गरेर स्वास्थ्यकर्मीसहित आवश्यक औषधि उपकरण पुर्याउनुपर्ने राज्यको दायित्व हो । तर, मन्त्री ढकालले सेल्फ क्वारेन्टाइनमा बस्नु भनेर दिएको गैरजिम्मेवारीपूर्ण आदेशले जनमत प्राप्त सरकारमाथि नै प्रश्न उठ्न थालेको छ । जनताको मत पाएर आएको दुईतिहाईको सरकारका मन्त्रीका कारण सिंगो पार्टीले लज्जित हुनु परेको नेकपाकै एक केन्द्रीय सदस्यले बताए ।

‘यो (कोरोना) भाइरसबाट शक्ति राष्ट्रसहित विश्व आतंकित भइरहेका बेला मनत्रीज्यूको हल्का जवाफले सरकारलाई नै लज्जित बनाएको छ’, नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘यतिबेला स्वास्थ्यमन्त्रीजस्तो जिम्ेमवार व्यक्तिले त्रासमा रहेका जनतालाई तपाईहरुको साथमा सरकार छ भन्नुपर्ने उल्टो जनतालाई निराश बनाउने काम भएको छ । जनतामाथि थप त्रास सिर्जना गर्नै काम भएको छ । यो त सिधै जनताको स्वास्थ्यमाथि नै खेलवाड गरेजस्तो भइगयो नि ! अब उहाँले आफ्नो भनाई फिर्ता लिँदै जनताको स्वास्थ्यमाथि खेलवाड नगर्ने प्रतिबद्धता व्यक्त गर्नु नै उचित हुन्छ ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीले गैरजिम्मेवारपूर्ण जवाफ दिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले मन्त्रीको अभिव्यक्तिले जनतामा थप त्रास सिर्जना गर्ने काम गरेको भन्दै संसदमा यसको जवाफ दिनुपर्ने माग गरेकी छन् ।

‘मन्त्रीको गैरजिम्मेवारपूर्ण जवाफले थप त्रास सिर्जना गर्ने काम भयो । मानिसहरु झनै भयावित हुन थाले । सरकारले सचेतना गर्ने । जस्तो सुकै परिस्थिति आइपरे पनि सरकार जिम्मेवार छ भन्नुपर्ने हो नि त’, उनले भनिन्, ‘सरकार जनताप्रति उत्तरदायी नभएको देखियो । उहाँले किन यस्तो गैरजिम्मेवारपूर्ण दिनुभयो हामी सदनमा जवाफ माग्छौं ।’

नेकपाभित्रै राजीनामा माग !

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चार हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितहरुको संख्या एक लाख १४ हजार ४ सय भन्दा बढी रहेको छ । जसमध्ये ६४ हजार ८१ जना उपचारको क्रममा निको भएर घर फर्किएका छन् । इटालीमा ७ हजार ९८५, दक्षिण कोरियामा ७ हजार २१२, इरानमा ४ हजार ५३०, फ्रान्समा १ हजार ३७०, स्पेनमा १ हजार १६९, जर्मनीमा १ हजार २०४, अमेरिकामा ६६६ संक्रमित रहेका छन् ।

मृतकको संख्या हेर्दा चीनपछि इटालीमा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा ४६३, इरानमा २३७, दक्षिण कोरियामा ५४, फ्रान्समा ३०, स्पेनमा ३०, अमेरिकामा २७, जापानमा ९ जनाको मृत्यु भएको छ । भयावह अवस्था सिर्जना भएपछि इटली सरकारले ६ करोड नागरिकलाई घरमै बस्न निर्देशन जारी गरेको छ ।

नेपालको दक्षिण छिमेकी मुलुक भारतमा हालसम्म ४७ जनामा कोरोना संक्रमण फेला परेकोमा ४ जनालाई निको भइसकेको छ भने ४३ जना संक्रमणकै अवस्थामा छन् । तर मृत्यु कसैको पनि भएको छैन । नेपालमा १ जनामा संक्रमण देखिएकोमा ती व्यक्ति पनि निको भएर घर फर्किसकेका छन् । हाल नेपालमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । श्रीलंकमा १ जनामा संक्रमण फेला परेकोमा निको भइसकेको छ भने भुटानमा १ जनामा संक्रमण भेटिएकोमा उपचार भइरहेको छ ।

दुई छिमेकी मुलुकहरु कोरोनाबाट ग्रसित भइरहेको पछिल्लो तथ्यांकबाट नेपालीहरु पनि त्रसित बनेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण भन्दा ज्यादा अफवाह फैलाउने काम बढी भएको पाइन्छ । त्यस्तै सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वयं नेकपा निकट विद्यार्थी संगठनहरुले आपत्ति जनाइरहेका छन् । सोही बेला स्वास्थ्यमन्त्री ढकालले दिएको पछिल्लो अभिव्यक्तिले झनै आशंका उत्पन्न गराएको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कोरोना भाइरसले तेरो मेरो नभन्ने भएकाले सबै जना सचेत बन्न आवश्यक रहेको बताएका छन् ।

‘कुराले चिउरा भिज्दैन । कोरोनाले कोही पनि भन्दैन । सबै आफैं सुरक्षित हुने हो । कोरोनालाई प्रवेश निधेष गर्ने हो’, उनले भने । सामाजिक सञ्जालमा मन्त्री ढकालको राजीनामा माग्न थालिएको छ । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पनि पदमा बसेर जिम्मेवारी लिन नसक्ने भए राजीनामा दिन सुझाव दिएका छन् ।

‘पदमा बसेर मन्त्रीले जिम्मेवारी बहन गर्ने हो । राष्ट्रमाथि जस्तो सुकै संकट आए पनि जनताको हितका पक्षमा काम गर्नुपर्छ । तर, यस्ता उरन्ठेउला कुरा गरेर नागरिकलाई त्रसित बनाउने हो भने राजीनामा दिएर बाटो खुल्ला गरिदिए हुन्छ’, नेकपाका एक जना केन्द्रीय नेताले भने ।

चीनबाट केही सिक्ने कि !

कोरोना भाइरसको महामारी फैलिएदेखि नै रोकथामका लागि सक्रियता देखाउँदै आएका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा पुगेर उनले भाइरस रोकथामका लागि गरेको पहलबारे स्वास्थ्यकर्मी र सुरक्षा निकायहरुलाई धन्यवाद दिए । महामारीको रुप लिइरेहको स्थानमा पुगेर राष्ट्रपति सीले कोरोनालार्य जित्न सकिन्छ भनेर भ्रमणको सन्देशसमेत दिए ।

उनले वुहानमा सुरक्षा निकाय, स्वास्थ्यकर्मीलाई भेटेर हौसला प्रदान गरे । उनी वुहान पुग्दा कुनै भीआईपी जस्तो भएर गएनन् साधारण मानिस सरह गए अस्पतालको अवलोकन गरे अनि चिकित्सक र सुरक्षा निकायका उच्च अधिकारीहरुलाई हौसला दिएर फर्किए । कोरोना भाइरसको कुनै पर्वाह नगरी वुहान पुगेको भन्दै अहिले राष्ट्रपति सीको प्रशंसा भइरहेको छ ।