काठमाडौं– नेपाली सेना र चिनियां सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको दोस्रो संस्करणको संयुक्त अभ्यास असोज १ देखि १२ गतेसम्म चीनको सिचुवान प्रान्तको राजधानी छेन्दूमा हुने भएको छ ।
संयुक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुनेछ । गत बर्ष काठमाडौंमा भएको पहिलो संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ मा चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली काठमाडौं आएको थियो । गत साता सम्पन्न प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणपछि संयुक्त सैन्य अभ्यासको मिति तय भएको हो । सेनापति क्षत्री एक साता लामो भ्रमण गरेर स्वदेश फर्किसकेका छन् ।
गत बर्ष भएको अभ्यासमा आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको बारेमा संयुक्त अभ्यास भएको थियो । दोस्रो संस्करणमा दुबै देशका सेनाबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ।
नेपाली सेनाले भारत,चीन र अमेरिकासंग प्रत्येक बर्षसंयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ र मजबुत पार्दै आएको छ। चीनसंगको संयुक्त सैन्य अभ्यासको विषयलाई विभिन्न शक्ति राष्ट्रहरुले नरुचाएपनि सेनाले भने यसलाई नियमित कार्यक्रमका रुपमा ब्याख्या गर्दै आएको छ ।




प्रतिक्रिया