चीनमा भएको विश्वव्यापी सुरक्षासम्बन्धी छलफलमा नेपाल पनि सहभागी

चीनमा भएको विश्वव्यापी सुरक्षासम्बन्धी छलफलमा नेपाल पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चीनमा सुरु भएको ११औँ ‘बेइजिङ सियाङसान फोरम सेप्टेम्बर’मा नेपाल पनि सहभागी भएको छ ।

शनिबारसम्म चल्ने सम्मेलनमा नेपाली सेनाका दुई जना उच्चस्तरका अधिकारी सहभागी भएका छन् । सम्मेलनमा उपरथी मधुकर कार्कीको नेतृत्वमा नेपालले सहभागिता जनाएको छ । सम्मेलनमा २०० भन्दा बढी चिनियाँ तथा विदेशी विज्ञ तथा विद्वानहरूका साथै १०० भन्दा बढी देशका आधिकारिक प्रतिनिधिमण्डल र अन्तर्राष्ट्रिय संस्थाका ५०० भन्दा बढी प्रतिनिधिहरूले भाग लिएका छन् ।

सुरक्षासँग रणनीतिक विषयमा छलफल गर्न आयोजित सम्मेलनको नारा ‘साझेदारी भविष्यका लागि शान्तिको प्रवद्र्धन’ तोकिएको छ ।

सम्मेलनले ग्लोबल सेक्युरिटी इनिसिएटिभ, ग्लोबल साउथ, एसिया प्यासिफिकको सुरक्षा र चीन–अमेरिका सम्बन्ध जस्ता विषयमा उच्चस्तरीय विषयमा छलफल गरेको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका उच्च पदस्थ अधिकारीहरूका साथै ३० भन्दा बढी रक्षामन्त्री र सेना प्रमुखहरू पनि सहभागी छन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रको सुरक्षा, चीन–अमेरिका सम्बन्ध र युरोपको सुरक्षा जस्ता क्षेत्रीय सुरक्षाका विषयमा मात्र छलफल केन्द्रित नभई विश्वव्यापी परिप्रेक्ष्यहरूका विषयमा पनि गहन छलफल भएको छ ।

आगामी दिनमा, विश्वव्यापी सुरक्षा सहयोग, एशिया–प्रशान्त क्षेत्रको समृद्धि र स्थिरता, बहुध्रुवीयता र विकसित अन्तर्राष्ट्रिय व्यवस्था, विश्वव्यापी रूपमा शान्तिपूर्ण विकासका साथै अन्तर्राष्ट्रिय संयन्त्र र विश्वव्यापी सुरक्षा सुशासनसम्बन्धी थप छलफल गरिने जनाइएको छ ।

यस्तो सम्मेलनले दक्षिण–दक्षिण र दक्षिण–उत्तर सहयोगको लागि मात्र नभई विकसित र उदीयमान देशहरूमा पनि सहयोगका थप ढोकालाई विस्तार गरेको जनाइएको छ ।