काठमाण्डु – जागिर खान कम्पनीलाई नै पैसा तिर्नु परेको सुन्नु भएको छ ? तर चीनमा बेरोजगारी चरमसीमामा पुगेपछि बेरोजगार युवाहरूमाझ यस्तो कम्पनीलाई पैसा तिर्ने चलन लोकप्रिय हुँदै गएको छ । यस्तो सेवा दिने कम्पनीहरूको बढ्दो संख्याले पनि यसको लोकप्रियता देखाउँछ ।
चीनको सुस्त अर्थतन्त्र र नाजुक रोजगारी बजारको अवस्थाबीच यो विकासक्रम देखा परेको हो ।
साँच्चिकैको जागिर पाउन थप कठिन बन्दै गइरहेका समयमा मानिसहरू घरमै बस्न भन्दा कार्यालय जानका लागि पैसा तिरिरहेका छन् ।
३० वर्षका शुइ झाओको खाद्य व्यवसाय गत वर्ष बन्द भयो । त्यसपछि बेरोजगार रहेका उनी यो वर्षको अप्रिलबाट दैनिक ३० युआन तिरेर एउटा नक्कली अफिस जान थालेका छन् । काम गरेको नक्कल गर्ने ‘प्रिटेन्ड टू वर्क’ नाम दिइएको यो कम्पनी उनी बसेको ठाउँबाट११४ किलोमिटर टाढा छ ।
त्यो नक्कली कार्यालयमा काम गर्ने उनी एक्ला नक्कली कर्मचारी होइनन् ।
चीनका ठूला सहरहरूमा यस्ता सेवा दिने कार्यालयको संख्या बढिरहेको छ । झट्ट हेर्दा यी कार्यालयहरू मानिसहरूले काम गरिरहेका कार्यस्थल जस्तै देखिन्छन् । कम्प्युटर, इन्टरनेट सुविधा, बैठक कोठा र चिया कोठासम्मको सुविधा हुन्छ ।
यहाँका नक्कली कर्मचारीहरू दिन कटाउन मात्रै आउँदैनन् । यहाँका कम्प्युटर प्रयोग गरेर रोजगारी खोज्न वा आफ्नै स्टार्ट–अप व्यवसाय सुरु गर्ने जस्ता काम पनि गर्छन् । कहिलेकाहीँ यस्ता कार्यालयको दैनिक शुल्क ३० देखि ५० युआनसम्म पर्छ । त्यसमा दिउँसोको खाना, नास्ता र पेय पदार्थको सुविधा पनि दिइन्छ ।
यस्ता ठाउँको लोकप्रियता बढ्नुको कारण चीनमा युवा बेरोजगारी दर बढेर १४ प्रतिशतभन्दा माथि पुग्नु पनि हो । यसको अर्थ राम्रो योग्यता भएका विश्वविद्यालयबाट स्नातक गरेकाहरूलाई समेत जागिर पाउन कठिन छ । आधिकारिक तथ्यांकअनुसार यस वर्ष रोजगारी बजारमा प्रवेश गर्ने स्नातकहरूको संख्या १ करोड २२ लाख पुग्ने अनुमान छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो
आर्थिक रूपान्तरण र शिक्षा तथा रोजगारी बजारबीचको असमानताका कारण युवाहरू बेरोजगार भइरहेको चिनियाँ विश्लेषकहरू बताउँछन् ।
यस्ता कार्यालयमा आउने र फर्कने कुनै नियम छैन । युवाहरू जागिर खोज्ने लगायतका काममा व्यस्त हुँदा त्यहाँ सबैले कडा मेहनत गरिरहेका हुन्छन् ।
सियाओवेन ताङ नामक युवती ‘प्रिटेन्ड टू वर्क कम्पनी’लाई एक महिनाका लागि आफ्नो कार्यस्थल बनाएकी छिन् । उनी स्नातक उत्तीर्ण हुन् तर एक वर्षदेखि रोजगारी पाएकी छैनन् ।
उनी अध्ययन गर्ने विश्वविद्यालयमा स्नातक भएको एक वर्षभित्र विद्यार्थीले जागिर पाएको सम्झौता वा प्रशिक्षार्थी जागिरको प्रमाण पेस नगरे प्रमाणपत्र नदिने नियम छ । त्यसैले उनी दैनिक शुल्क तिरेर मात्रै त्यो कार्यालयमा जान थालेकी हुन् ।




प्रतिक्रिया