काठमाण्डु – चीनले नेपाललाई थप खोप सहयोग गर्ने भएको छ । चिनियाँ राजदूतावासले सोमबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणबाट जोगाउन चीनले थप खोपको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उनले पत्रकार सम्मेलनमा विभिन्न समयमा चीनबाट ५८ लाख डोज खोप आइसकेको जानकारी गराएकी छन् । राजदूत यान्छीले अहिलेसम्म १८ लाख खोप अनुदान र ४० लाख भ्याक्सिन नेपाल–चीन सहकार्यमार्फत पठाएको बताएकी हुन् । उनले ४० लाखमध्ये पहिलो चरणको खोप आइसकेको बताइन् ।
नेपाल चीनको एक असल छिमेकी मित्र भएको बताउँदै राजदूत यान्छीले नेपाली नागरिकलाई खोप उपलब्ध गराउन चीन प्रतिबद्ध रहेको बताइन् । उनले अझै कति मात्रामा खोपको सहयोग गर्ने नखुलाए पनि नेपाली नागरिकको जीवन रक्षाका लागि थप सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताइन् ।
‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ । आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,’ उनले भनिन्,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ । त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं ।’
उनले कोरोना महामारीबिरूद्ध लड्न चीनले सक्रिय रुपमा अन्तर्राष्ट्रिय सहयोग गरिरहेको बताएकी छन् । हालसम्म चीनले नेपाललगायत करिब १०० देशहरुलाई ४५० मिलियन भन्दा बढी खोपहरू प्रदान गरिसकेको राजदूत यान्छीले बताइन् ।
उनले चीनले उपलब्ध गराएका खोपहरूले नेपाली जनताका लागि प्रतिरक्षा फायरवाल निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
‘राष्ट्रपति सीले दोहोर्याए जस्तै, चीन जहिले पनि विकासोन्मुख देशको साथमा हुनेछ । जे भए पनि अन्तर्राष्ट्रिय स्थिति परिवर्तन भए पनि हामी विकासोन्मुख देशहरूको सधैं भरपर्दो साझेदार हुनेछौं’, उनले भनिन् ।
त्यस्तै उनले तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नका लागि प्रयास भइरहेको बताइन् । राजदूत यान्छीले तिब्बत र नेपालतर्फको भूबनोटका कारण केही समस्या रहेपनि नियमित रुपमा नाका सञ्चालनको प्रयास भइरहेको बताएकी हुन् । उनले तातोपानीबाट दैनिक २० कन्टेनर सामान आइरहेको बताइन् ।
राजदूत यान्छीले चीनको स्वशासित क्षेत्र तिब्बतलाई कोरोना महामारीबाट जोगाउनका लागि तातोपानी र रसुवागढी नाकामा आवात–जावत कम गरेको स्वीकार गरिन् ।
‘यो कुनै राजनीतिक कारणले भएको होइन । प्राविधिक कारणले रोकिएको हो । दुबै देशका सम्बन्धित अधिकारीहरूले जति सक्यो छिटो समस्याको समाधान गर्नेछन्,’ उनले भनिन् ।




प्रतिक्रिया