सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


काठमाण्डु – सुन तस्करी प्रकरणमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन प्रकरणमा काठमाडौंबाट बिहीबार राति दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।

गत साउन ३ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement