चिनियाँ चलचित्र महोत्सव सुरु

चिनियाँ चलचित्र महोत्सव सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबारदेखि चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ। पहिलो दिन जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत गरियो।

नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वर्ल्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवअन्तर्गत शनिबार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ शीर्षक चलचित्र प्रस्तुत गरिनेछ। सो चलचित्र यही पुस २१ गते पोखरामा प्रस्तुत गरिनेछ भने २४ गते लुम्बिनीमा ‘सैन्य परेड २०१९’ र ‘स्वेन चाङ’ प्रस्तुत गरिनेछ।

महोत्सव उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुद्धभद्र, भृकुटी, स्रङ चङ गम्पो, भृकुटी, अरनिको र पद्मसंभवलगायतले अघि बढाएको नेपाल चीनबीचको सम्बन्ध हिमाल झैं अटल र नदीजस्तै गतिशील भएको बताउँदै विश्वशान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएका छन् भन्दै सम्बोधन गरेका थिए।

उनले सामाजिक सञ्जालका माध्यमबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले नेपालको प्रचारप्रसार गरिरहेकामा धन्यवाद दिँदै नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँहरु नेपाल ल्याउनका लागि आग्रह गरे।

चिनियाँ राजदूत हौले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध निकै उचाइमा पुगेको बताउँदै चिनियाँहरुलाई नेपाल आउन र नेपालीहरुलाई चीन गएर ज्ञान हाँसिल गर्न आग्रह गरिन्। -रासस