चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष


सिमकोट – ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो ।

नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो ।

नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताउनुभयो । सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा नपर्ने बताउँदै तथ्यगत रूपमा बुझेर मात्र सो विवाद बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो ।

सीमा अनुगमनको महìवपूर्ण उपलब्धि भनेकै नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लाग्नु रहेको प्रजिअ गिरीले स्पष्ट पार्नुुभयो ।

नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा नेपाली भूमिमा चिनियाँ पक्षले घर बनाएको प्रतिवेदन गल्ती भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा माग्नुभएको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिको भनाइलाई विश्वास मान्दा गलत प्रतिवेदन दिन पुगेको भन्दै सहायक प्रजिअ हमालले गृह मन्त्रालयले मागेको स्पष्टीकरणमा जवाफ दिँदै क्षमायाचना गर्नुभएको हो ।

केही समयअघि लाप्चा क्षेत्र पुग्नुभएका हमालले स्थानीय बासिन्दाको कुरा सुनेकै आधारमा प्रतिवेदन दिनु गल्ती भएको स्वीकार गर्नुभएको छ । यसअघि उहाँलाई गृह मन्त्रालयले सो विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement