काठमाण्डु- कात्तिक २८ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बने । त्यही प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गर्दा पनि प्रचण्डले नमानेपछि नेकपा विभाजित भएको छ ।
प्रचण्डको त्यो प्रस्तावले ओली आक्रोशित बनेर नेकपाभित्र संकट उत्पन्न भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंसिर २ गते राति प्रधानमन्त्री ओलीसँग ३ घण्टा छलफल गरिन् ।
अत्यन्तै चासोका साथ हेरिएको मंसिर ३ गते बोलाइएको नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा यान्छीले ओलीलाई भेटेकी थिइन् । त्यसपछि यान्छीले प्रचण्ड र नेता माधवकुमार नेपालसँग पनि भेट गरिन् ।
नेकपाभित्र विवाद चर्किएका बेला राजदूत यान्छी सक्रिय हुने गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आईतबार प्रतिनिधिसभा (संसद) विघटन गरेपछि नेकपा विभाजित भइसकेको छ । तर यान्छीले फेरि सक्रियता बढाएकी छन् । यान्छीले नेकपालाई एकतावद्ध राखिराख्न गरिरहेको कोसिस सफल नभएपछि प्रयास गर्न छाडेकी छैनन् ।
राजदूत यान्छीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिन् । त्यसपछि उनले बिहीबार बिहान नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छन् । राजदूत यान्छीले प्रचण्ड निवास खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डपछि यान्छीले प्रधानमन्त्री ओली र अध्यक्ष नेपालसँग भेट्ने तयारी गरेकी छन् । राजदूत यान्छीको सक्रियता २–४ महिनायता मात्रै होइन, नेकपाभित्र विवाद चर्किरहेका बेला उनले पालैपालो नेताहरूसँग भेटवार्ता गर्ने गरेकी छन् ।
नेकपाभित्र विवाद चर्किएका बेला गत बैशाख १८ गते प्रधानमन्त्री ओली र बैशाख १९ गते अध्यक्ष प्रचण्ड र नेपालसँग भेट गरेकी थिइन् । संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपालाई एकीकृत नै रहेको देख्न चाहने चीनको इच्छा अनुसार यान्छीको सक्रियता हुने गरेको दूतावास स्रोतले जानकारी दिएको छ । तर यान्छीको सक्रियताले सफलता पाएको देखिएन ।
‘चीन नेपालमा राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ, त्यसका लागि स्वाभाविक रूपमा नेकपा एकीकृत रहनुपर्छ भन्ने चीनको चाहना हो,’ दूतावासका एक अधिकारीले भने, ‘नेकपा विभाजित हुँदा नेपाल–चीन सम्बन्धमा ध्यान दिन नसकिने, चिनियाँ लगानीमा सञ्चालित विकास आयोजना प्रभावित हुने, चिनियाँ सुरक्षा चासो सम्बोधन हुन नसक्ने खतरा रहन्छ ।’
चीनमा समेत कम्युनिस्ट पार्टीको शासन रहेकाले नेपालमा कम्युनिस्टको स्थिर सरकार रहोस् भन्ने चिनियाँ चाहना रहेपनि नेताहरूको व्यक्तिगत टकरावले समस्या निम्तिएको चिनियाँ बुझाई छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेपछि चीनले नेपालको विकासमा लगानी बढाउने, नेकपासँगको सम्बन्ध विस्तार गर्ने तथा सरकार र पार्टीगत तहमा सहकार्य बढाउँदै लगेको थियो ।
‘राजनीतिक गतिरोध निम्तिएपछि सरकारले नै विकासका काममा ध्यान दिन पाउँदैन, यसले चीन र नेपालको सहकार्यले नतिजा दिँदैन, चिनियाँ लगानीका आयोजनाको काम अलपत्र पर्छ, त्यसैले चीन नेपालमा राजनीतिक स्थिरता चाहन्छ,’ दूतावास स्रोतले भन्यो, ‘कम्युनिस्ट नेताहरूबीच मेलमिलाप होस्, विकासका काममा ध्यान जाओस् भनेर आग्रह गर्न महामहिम राजदूतले भेटवार्ता गर्नुभएको हो ।’
महिनौंअघिदेखि काठमाडौंमा सक्रिय रहेकी यान्छीले नेकपाको फुटलाई रोक्न सकिनन् । अब राजदूत यान्छीले फुटिसकेका ओली र प्रचण्ड पक्षलाई मिलाउन सक्लिन् ? हेर्न बाँकी छ । तर एकअर्काप्रति क्रूर शब्दवाण प्रहार गरिरहेका ओली–प्रचण्ड मिल्ने सम्भावना भने कमै देखिन्छ ।




प्रतिक्रिया