काठमाण्डु-नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने चिनियाँ विज्ञहरूले बताएका छन् ।
उनीहरूले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणबाट विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई तिव्रता दिँदै परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र दुई पक्षबीचको समन्वयलाई थप प्रगाढ बनाउने अपेक्षा गरेका छन् ।
भारतका केही सञ्चारमाध्यमहरूले प्रधानमन्त्री ओलीले भारतको सट्टा पहिले चीन भ्रमण गरेर ‘परम्परा’ तोडेको प्रचार गरेपछि चिनियाँ विज्ञहरूले नेपाल र चीनबीचको सहकार्यले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमणबाट क्षेत्रीय विकास, शान्ति र स्थिरताको विकास हुने पनि उनीहरू बताउँछन् ।
भ्रमणका क्रममा नेपाल र चीनबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । यस्तै, चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करीब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
संघाई एकेडेमी अफ सोसल साइन्सेजको इन्सटिच्युट अफ इन्टरनेशनल रिलेसनका रिसर्च फेलो हु झियोङले ओलीले पदभार ग्रहण गरेपछि भ्रमण गर्ने पहिलो विदेशी देशको रूपमा चीनलाई छनोट गर्दा नेपाल सरकारले चीनलाई धेरै महत्व दिएको देखिएको बताए । नेपालले चीनसँगको सम्बन्ध र विकासलाई आफ्नो कूटनीतिक कार्यको मुख्य दिशा मानेको उनको बुझाइ छ ।
सिङ्हुआ विश्वविद्यालयको नेशनल स्ट्राटेजी इन्स्टिच्युटको अनुसन्धान विभागका निर्देशक छियान फेङले नेपालको अर्थतन्त्रलाई चीनको उच्च गुणस्तरीय आर्थिक विकासको ‘एक्सप्रेस ट्रेन’ बनाउने ओलीको भ्रमणको मुख्य केन्द्रविन्दु रहेको उल्लेख गरे ।
छियानले नेपालमा राजनीतिक परिवर्तन र कोरोना महामारीको प्रभावका कारण दुई देशबीचका केही सहयोगलाई सहज रूपमा कार्यान्वयन गर्न नसकिएको बताए । ‘चीनका लागि नेपाल एक महत्वपूर्ण बीआरआई साझेदार मात्र होइन, निकट र मित्रवत् छिमेकी पनि हुन्’ छियानले भने ।
ओलीको चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नजिकबाट नियालिरहेका छन् । ओलीलाई ‘चीन समर्थक नेता’ भन्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उसले भनेको छ, ‘नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि छिमेकीमा भारतलाई आफ्नो पहिलो गन्तव्य बनाउने सामान्य अभ्यासलाई तोडेका छन् ।’
भारतको बिजनेश स्ट्यान्डर्डले ओलीलाई ‘दिग्गज कम्युनिस्ट राजनीतिज्ञ’को उपमा दिँदै भनेको छ, ‘ओली भारतमा आफ्नो परम्परागत निर्भरता कम गर्न चाहन्छ ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिइएको २१ करोड ६० लाख डलर ऋणबारे भारतीय सञ्चारमाध्यमले ‘ऋण चिन्ता’ भनेर टिप्पणी गरेको छ ।
चीन र नेपालबीचको द्विपक्षीय सम्बन्धको विकास दुई राष्ट्र र उनीहरूका जनताको आधारभूत हितमा रहेको र यसबारे तेस्रो पक्षलाई असहमति रोप्ने ठाउँ नरहेको छियानले बताउँछन् ।
चीनले नेपालको स्वतन्त्र विकासको अधिकारलाई सम्मान गरेको र नेपालमा महत्वपूर्ण प्रभाव रहेको भारतले विगतमा जस्तै नेपालमा हस्तक्षेप नगर्ने आशा छियानको छ ।
रिसर्च फेलो हुले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको विकास दक्षिण एसियामा चीनको प्रभाव बढाउन वस्तुगत रूपमा ठूलो महत्वको रहेको तर्क गर्छन् । ‘तर, नेपालका प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर भारतमा गरिएको चिन्ता संवेदनशील छन्,’ उनी भन्छन् ।
‘नयाँ दिल्लीले कुनै पनि तेस्रो पक्षलाई लक्षित नगरी नेपाल–चीन सहयोगलाई अति नै व्याख्या गर्नु हुँदैन । बरु, यो सहकार्य क्षेत्रीय साझा विकास र क्षेत्रीय स्थायित्वको रक्षा गर्न अनुकूल छ भन्ने बुझनुपर्छ’, उनले भने ।
पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स जस्ता दक्षिण एसियाका धेरै देशले बीआरआई परियोजनामा सहभागी भएर आफ्नै विकास हासिल गरेको हु बताउँछन् । ‘बिआरआई सहयोगका लागि ठूलो ‘केक’ हो । नेपाल पनि यो ‘केक’ बाँड्न सक्नुपर्छ’, उनले भने ।
आधिकारिक तथ्यांक अनुसार चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो । सन् २०२३ मा नेपाल र चीनबीचको द्विपक्षीय व्यापारको मात्रा १.८ बिलियन डलर थियो, जुन यो वार्षिक ९.१ प्रतिशतले बढेको छ ।
‘चीनको बढ्दो शक्ति र प्रभावलाई ध्यानमा राख्दै विशेष गरी नेपाल र चीन दुवैले एकअर्कासँग घनिष्ठ सहयोगात्मक सम्बन्ध स्थापना गर्न खोजेकाले चीनको अंश अझै बढ्ने निश्चित छ’, छियानले भने, ‘तर, नेपालको सबैभन्दा प्रभावशाली आर्थिक साझेदारको रूपमा भारतको प्रवृत्ति पनि लामो समयदेखि चलिरहेको छ ।
नेपालसँगको भारतको सम्बन्धको भौगोलिक र सांस्कृतिक फाइदालाई नेपाललाई ध्यान राख्नुपर्छ ।’
वास्तवमा नेपालसँगको सहकार्यका सन्दर्भमा दुई प्रमुख देशले साँघुरो दृष्टिकोण राखेर दुष्कर प्रतिस्पर्धात्मक सम्बन्धमा फस्नुको सट्टा आफ्नो साझा छिमेकीको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा सहयोग गर्न थप सकारात्मक भूमिका खेल्ने गरेको छियानको सुझाव छ ।




प्रतिक्रिया