काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै राजदूत यान्छीले आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरि छिमेकी देशबाट बिदा हुन लागेको बताएकी हुन् ।
नेपालमा रहँदा पाएको माया र सभावका लागि सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै उनले सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको र त्यो अनुभव, माया बोकेर जान लागेको बताएकी छन् ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत यान्छीलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।
होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।
उनले यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मा लगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।




प्रतिक्रिया