नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा विमान चार्टर गरेर आए १८० चिनियाँ पर्यटक


काठमाण्डु- हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए।

‘पाहुना भनेको भगवान हुन्, हामी भगवानको रूपमा सधैँ विदेशी पाहुनाको स्वागत गर्दछौं,’ उनले भने। मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एसियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत् थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं,’ मन्त्री किराँतीले भने।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको उल्लेख गर्दै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत् प्रत्यक्ष जोड्न चाहेको बताए।

मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे।

मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रूपमा नेपालले मनाउन चाहेको बताए। नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए।

‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,’ राजदूत सङले भने। उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए। नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल विग माउन्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुसी व्यक्त गरे।

उनले आगामी महिना झन्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए। पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरूरी रहेको बताए।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement