काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन् ।
आज बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले जनमोर्चाले सुरुदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको टिप्पणी गरे ।
नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तह मात्रै भए पुग्ने उनले बताए । ‘संघ भएपछि प्रदेश किन चाहियो । राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ । संघीयता बोक्नेहरूलाई पनि अहिले प्रदेश घाँडो भा’छ ।’
सांसदहरू विकासका एजेन्ट भएको उनले बताए । ‘एकातिर हाम्रो काम नियम–कानून बनाउने, अर्कोतिर विकासका कामका ठेक्कापट्टा । त्यसकारण व्यवहारमा लागू भा’छैन । नियम–कानून मात्रै बनाउने हो हाम्रो काम त्यसमा विचार गर्नुपर्छ,’ उनले भने ।
सांसदहरूको व्यवहारका कारण पनि नागरिकहरूमा वितृष्णा पैदा भएको उनले बताए । देशमा केही हुन्न भनेर विदेशिएका युवाहरू स्वदेश नफर्किने उनले बताए ।
उनले भने, ‘सबका सब छोराछोरी क्यानडा, अमेरिका, अस्ट्रेलिया । हामीले अब घुस खान पनि किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यता आउँदैनन् । छोराछोरीका लागि हो भ्रष्टाचार गर्नुपर्ने, घुस खानुपर्ने,’ उनले भने, ‘त्यसमा चाहिँ हामीलाई सजिलो भएको छ ।’




प्रतिक्रिया