चित्रबहादुर केसीको गृहजिल्ला बागलुङमा कुन-कुन दलबीच हुँदै छ प्रतिस्पर्धा ?

चित्रबहादुर केसीको गृहजिल्ला बागलुङमा कुन-कुन दलबीच हुँदै छ प्रतिस्पर्धा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको बागलुङ जिल्लामा चार नगरपालिकासहित १० स्थानीय तह छन् । ०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र एमालेले चार–चार पालिका प्रमुख जितेका थिए । माओवादी र जनमोर्चाले एक–एक पालिका जितेका थिए । पाँच दलबीच गठबन्धन नभएको अवस्थामा यसपटक पनि मुख्यतः कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला हो । त्यसकारण जनमोर्चाको प्रभाव जिल्लामा छ । ०७४ को निर्वाचनमा जनमोर्चाले एक पालिका जितेको थियो । गत निर्वाचनमा कांग्रेसले गल्कोट नगरपालिका, तमानखोला गाउँपालिका, जैमुनी नगरपालिका र निसीखोला गाउँपालिका जितेको थियो । जैमुनी नगरपालिकामा कांग्रेसका उम्मेदवारले १ सय ६ मतले जनमोर्चाका उम्मेदवारलाई पराजित गरेका थिए ।

एमालेले बागलुङ नगरपालिकासहित ढोरपाटन नगरपालिका, काँठेखोला गाउँपालिका र बडीगाढ गाउँपालिका जितेको थियो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच तालमेल भएको थियो । सोहीअनुसार बागलुङ नगरपालिकाको उपमेयरमा राप्रपा र काठेखोला गाउँपालिकाको उपाध्यक्षमा जनमोर्चाका उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्र्रले ताराखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चाले वरेङ गाउँपालिका जितेको थियो । बागलुङ माओवादी केन्द्रका नेता एवं हालका शिक्षामन्त्री देवेन्द्र पौडेल र पूर्वशिक्षामन्त्री दीननाथ शर्माको पनि गृहजिल्ला हो ।

गठबन्धन हुँदा एमालेलाई सकस

आसन्न निर्वाचनका लागि सत्तागठबन्धनका पाँच दलबीच तालमेलका लागि प्रयत्न भएका छन् । यद्यपि, केही पालिकामा भागबन्डामा सहमति जुट्न सकेको छैन । अन्यत्र सहमति नजुटे पनि विगतमा एमालेले जितेको ढोरपाटन नगरपालिकामा भने पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको छ ।

पाँच दलबीच तालमेल भए जिल्लामा एउटा पालिका जित्न पनि एमालेलाई कठिन हुने देखिन्छ । यद्यपि, जिल्लामा जित–हारका लागि जनमोर्चाको निर्णायक मत छ । पाँच दलबीच तालमेल नभए विगतमा जस्तै एमाले, जनमोर्चा र राप्रपाबीच तालमेल हुने सम्भावना पनि छ । तालमेल भएको खण्डमा केही पालिकामा एमाले र जनमोर्चाका लागि सहज हुने देखिन्छ । तर, पार्टी विभाजन भएका कारण एकीकृत समाजवादीले केही मत काट्न सक्ने चिन्ता एमालेलाई छ ।

त्यसबाहेक नयाँ थपिएका मतदाता पनि जित–हारको फ्याक्टर बन्न सक्ने देखिन्छ । जिल्लामा स्थानीय निर्वाचनका लागि ९३ हजार ८ सय ९७ पुरुष र ९९ हजार ७ सय २८ महिला गरी १ लाख ९३ हजार ६ सय २५ मतदाता छन् । स्थानीय चुनावका लागि बागलुङमा ६ राष्ट्रियबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १३ दल दर्ता छन् ।