संविधान बनेपछि नेपालीको ७ दशक लामो चाहना पूरा भयो : चित्रबहादुर केसी


काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाबाट संविधानको निर्माणपछि नेपाली जनताको ७ दशक लामो चाहना पूरा भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिए ।

‘संविधानमा जनताका चाहनाविपरीत तथा ०६२/०६३ को जनआन्दोलनको माग नै नभएको संघीयता लगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ,’ उनले भने ।

संविधान सभाबाट संविधानको निर्माण आफैंमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ परिघटना भएको उल्लेख गर्दै उनले प्रतिक्रियावादी शक्तिहरू क्रियाशील भइरहेको अवस्थामा संविधानलाई असफल पार्ने षड्यन्त्रविरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement