काठमाण्डु- पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर बसेको गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले गुनासो गरेका हुन् ।
‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।
गठबन्धन दलहरुको आज बसेको बैठकले संसदमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बाहिरिए लगत्तै दलका अन्य नेताहरु निर्णयको विरोधमा उत्रेका छन् ।
शुक्रबार विहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको बैठकले एमसीसी आज संसदमा टेबुल गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय जनमोर्चालाई बोलाएन । त्यस्तै एमसीसीको कडा विरोध गर्दै आएका गठबन्धन दलका केही नेताहरुलाई पनि बोलाइएको थिएन । शिर्ष नेताहरुले पार्टी भित्र छलफल नै नगरी संसदमा टेबुल गर्ने निर्णय गरेका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।




प्रतिक्रिया