काठमाण्डु – चितवनमा सत्ता गठबन्धनका दलहरुले ७ वटै स्थानीय तह र जिल्ला समितिमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।चितवनको सत्ता गठबन्धन संयन्त्रको आज बसेको बैठले सबै दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।
चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो । प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नो दाबी गर्दै छोरी रेणु दाहाललाई पुनः मेयरमा उठाउन केन्द्रबाटै तालमेलको तयारी गरिरहेका छन् ।
त्यस्तै बैठकले ४ बुँदे निर्णय समेत गरेको छ । जिल्लाका सबै पालिकामा गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि नेपाली कांग्रेसको सम्बन्धित पालिका सभापतिको नेतृत्वमा संयन्त्र बनाउने निर्णय गरेको छ ।
त्यस्तै गठबन्धनमा सहभागी दलहरूबीच गठबन्धनको मर्म र भावना अनुरुप एक–आपसमा सम्मान र हार्दिकताको विकास गर्ने र सबै दलको वस्तुस्थितिको प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाइएको छ ।
चितवनको गठबन्धन संयन्त्रमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपाका प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरी छन् ।





प्रतिक्रिया