चितवन – संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि दावी गर्नेहरु बढ्दै गएका छन् । पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेकाले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन शीर्ष नेताहरु गृहकार्य गर्न थालेका छन् ।
मुख्यरुपमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र राप्रपाका उम्मेदवारका बिचमा यहाँ प्रतिस्पर्धा हुने भएको छ । यसअघि ०७४ को निर्वाचनमा संघमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र ६ प्रदेशमा ती नै दुई दलका उम्मेदवार विजयी भएका थिए ।
एमालेकोे फुटसँगै बनेको समाजवादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै एमाले र माओवादी केन्द्रका छन् । नेपाली कांग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरुबीचमा गठबन्धन हुने जनाइएको छ । यस्तो अवस्थामा नतिजा फरक हुने अनुमान दलहरुले गरेका छन् ।
निर्वाचनमा सङ्घ र प्रदेश तहमा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवारीका लागि दावी गर्नेको सङ्ख्या धेरै छ । एमालेका जिल्लाअध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको जिकिर रहेको छ । सोही क्षेत्रको प्रदेश ‘क’ मा प्रभा बराल, इमानसिंह लामा, सिंहबहादुर गोले र घनश्याम कँडेलको जिकिर रहेको छ ।
‘ख’ मा नारायण वन, जगन्नाथ आचार्य, महादेवी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिलेसम्म जिकिर हुँदै आएको उनी बताउँछन् । क्षेत्र नं २ बाट रामबहादुर थापा, देवी ज्ञावली, कृष्णभक्त पोख्रेल र सारदा कुमालमध्ये एक जना उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ ।
क्षेत्र नं २ ‘क’ मा खुमनारायण श्रेष्ठ, कृष्ण शिलवाल, केशव लामा र टीका रिजालको जिकिर रहेको छ । २ ‘ख’ मा विजय सुवेदी, तेजेन्द्र खड्का र सङ्घमा उम्मेदवारी नपाएकामध्ये पनि पर्नसक्ने अनुमान गरिएको छ । यस्तै क्षेत्र नं ३ मा आफ्नै जिकिर रहेको उनले बताए ।
यससँगै कृष्ण भूर्तेलको पनि क्षेत्र नं ३ मा उम्मेदवारीका लागि जिकिर रहेको छ । भूर्तेल ३ ‘क’ मा उम्मेदवार बन्न सक्ने जिल्लाअध्यक्ष न्यौपानेको आँकलन छ । उनलाई पार्टीले क्षेत्र नं ३ मा उम्मेदवार बनाउन नसकेमा न्यौपानेको जिकिर २ को ‘ख’ मा पनि रहेको छ । क्षेत्र नं ३ को ‘ख’ मा सरस्वती विष्ट, शङ्कर थपलिया र प्रकाश ढुङ्गानाको जिकिर रहेको छ । हालसम्म देखिएका अनुहारभन्दा थप उम्मेदवारको दावी आउन सक्ने जानकारी दिँदै जिल्ला अध्यक्ष न्यौपाने भन्छन्, ‘अहिले देखिएका र जिकिर गर्नेभन्दा अरु थप पनि हुनसक्छ ।’
नेपाली कांग्रेसको क्षेत्र नं १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले दावी गरेको जिल्ला सभापति राजेश्वर खनालले बताए । क्षेत्र नं १ को ‘क’ मा धनबहादुर गुरुङ्को जिकिर रहेको र सोही प्रदेशमा आफ्नो पनि दावी रहेको क्षेत्रीय सभापति किरणभूषण ओलीले बताउँदै आएका छन् । क्षेत्र नं १ को ‘ख’ मा गीता देवकोटा, वासु ढुङ्गाना, उत्तम आचार्य, राजु शिलवाल र कुमार कार्कीले इच्छा देखएका छन् ।
क्षेत्र नं २ मा सभापति खनाल नै र पूर्वसभापति जीतनारायण श्रेष्ठको दावी रहेको उनले बताए । जिल्ला सभापति खनालले आफूलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी हुने दावी गरेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।
प्रदेश २ ‘क’ मा दीपक आचार्य, टङ्कनाथ पौडेल, कमल आचार्य र रामबहादुर लामाको जिकिर रहेको छ । क्षेत्र नं २ ‘ख’ मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुव पोख्रेलले उम्मेदवारी दिने जिकिर गरेको सभापति खनालको भनाइ छ । क्षेत्र नम्बर ३ बाट टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको दावी रहेको छ । केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने जिकिर गर्दै आएकी छन् ।
प्रदेश नं ३ (क) मा प्रा डा सूर्यकान्त घिमिरे, विजय भुषाल र राजीव न्यौपानेको जिकिर रहेको छ भने ३ (ख) मा कैलाश कोइराला, साजन महतो र लालबहादुर दवाडीको जिकिर रहेको सभापति खनालले जानकारी दिए ।
यस्तै नेकपा माओवादी केन्द्र चितवन शाखाले क्षेत्र नं ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरिसकेको छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठबन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ ।
आन्तरिक सङगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको जिल्लाअध्यक्ष अधिकारीको भनाइ छ । नेकपा समाजबादीका नेता कृष्ण खनाल गठवन्धनको निर्णयअनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउँछन् ।
राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताए । जिल्ला अध्यक्ष रुद्र ढकाल क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवारले उम्मेदवारी दिने बताउँछन् । गठवन्धन भएमा सोहीअनुसार मिलाइने उनको भनाइ छ । जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठवन्धन गरेका थिए ।
सत्ता र बिपक्षीको दुई गठवन्धन बनेमा आफूले जिकिर गरेको क्षेत्रबाट भन्दा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने बाध्यता जिल्ला नेताहरुमा छ । क्षेत्र नं २ बाट खाना र खेतीपातीका अभियान्ता डा कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलन गरी घोषणा गरेका छन् ।
यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नं ३ बाट हुने बताउँदै आएका छन् । दलहरुमा उम्मेदवारीका लागि दावी गर्नेहरु धेरै छन् । जिल्ला नेतृत्वसँग उम्मेदवारीका लागि दावी गर्नेको नाम बाहिर आए पनि प्रदेश र केन्द्रका लागि भने सोझै उम्मेदवारका लागि दावी गरिरहेका कतिपय नेता सार्वजनिक भइसकेका छैनन् ।
साना र नयाँ दलका उम्मेदवारका नाम पनि सार्वजनिक भइसकेका छैनन् । पार्टीभित्र गुट र उपगुटको नेतृत्व गरेका कारण आफ्ना पक्षका नेतालाई टिकट दिलाउन शीर्ष नेताहरुलाई मुस्किल पर्ने देखिन्छ ।




प्रतिक्रिया