चितवन – चितवनमा शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । चितवनको सार्वजनिक मतपरिणाम अनुसार तीनवटै वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली काँग्रेस विजयी भएको छ ।
दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने दावी गर्दै आएको थियो । तर, चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाइदिएको छ । यसअघि जित हासिल गरेको वडामा समेत नेकपाले पराजय भोग्न परेको छ ।
भरतपुर महानगरपालिका–१६ बाट भक्तराज हमाल नेकपाबाट उम्मेद्वार बनेका थिए । १६ वडामा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो ।
अहिले पार्टी एक हुँदा पनि काँग्रेससँग नेकपा उम्मेद्वार ३०८ मतको अन्तरले पराजित भएका छन् । ३ हजार १८३ मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार अमृतराज हमाल वडा नम्बर १६ को वडाअध्यक्षमा विजयी भएका हुन् ।
यस्तै नेकपा उम्मेद्वार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरेका थिए । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।
यस्तै पूर्वी्चितवनको खैरहनी नगरपालिका–४ मा पनि नेपाली काँग्रेसका उम्मेद्वार नै विजयी भएका छन् । काँग्रेस उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले हराएका छन् ।
बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरे भने अधिकारीले ९८६ मत प्राप्त गरे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो ।
खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भएकी छन् । कार्की नेकपा उम्मेद्वारलाई ८६ मतान्तरले फरक पार्दै वडाअध्यक्षमा विजयी भएकी हुन् ।
कार्कीले ८ सय ४२ प्राप्त गरिन्भने नेकपा उम्मेद्वार पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरेका छन् । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।
कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिका– ४ र ५ वडाका अडाध्यक्षहरुको सवारी दुर्घटनामा निधनपछि पनि काँग्रैसकै उम्मेद्वारहरु विजयी भएका हुन् ।




प्रतिक्रिया